[ राम अवतार चाैधरी ]
कपिलवस्तु := कपिलवस्तुको शिवराज नगरपालिकामा बालविवाहको अन्त्य गर्नका लागि १० बर्षे रणनीति याेजनाबारे सराेकारवालासँग अन्तरक्रिया गरिएको छ । बुधबार चन्द्राैटामा सराेकारवालासँग बालविवाहबारे अन्तरक्रिया गरिएको आयाेजकले जनाएको छ ।
मातृ शिशु मृत्युदरको मुख्य कारक मानिने बालविवाहकाे अवस्था भने अझै पनि नेपालभर नै नाजुक छ । बालविवाह विरुद्ध नागरिकहरूको सचेतना भए पनि यसको क्रम भने रोकिएको छैन् । विगत तीन वर्षको अवस्था हेर्दा शिवराज नगरपालिकामा २० वर्ष मुनिका १ हजार ६ सय ७ जनाको बालविवाह भएको नगरपालिकाले तयार पारेको डिजिटल प्रोफाइलमा उल्लेख गरिएको छ ।

जसमा बालकको संख्या १ हजार १ सय १७ छ भने बालिकाको संख्या ४ सय ९० रहेको छ । विभिन्न संघसस्थाले बालविवाह विरुद्ध विभिन्न अभियान, सचेतनामूलक कार्यक्रमहरू गरे पनि व्यवहारमा भने यसको परिणाम न्युन देखिएकाे छ ।नगरपालिकाको वडा नं.१ मा सबै भन्दा धेरै २२४ जनाले बालविवाह गरेका छन् ।
कम बालविवाह हुनेमा वडा न ७ रहेको छ जसमा ३४ जनाले बालविवाह गरेका छन् । सिद्धार्थ सामाजिक संस्थाले आयोजना गरेको बालविवाह अन्त्यको लागि रणनीति योजना मस्यौदा माथि सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले बालविवाहको अवस्था भयावह रहेकोले यसलाई न्यूनीकरण गर्न सबै लाग्नुपर्ने बताएका छन् ।
नगरपालिकाले बालविवाह न्यूनीकरण गर्न १० वर्षे रणनीति तयार गरिरहेकोले यसमा सबैको सहयोग आवश्यक रहेको नगर उपप्रमुख शिवकुमारी थारुले बताएकी छन् । बालविवाह समाजमा जरा गाडेर बसेकोले यसमा सबै सचेत हुनुपर्ने जनाइन्। नगरपालिका मात्र चाहेर नहुने भन्दै यस योजनामा सरोकारवालाको ठूलो भूमिका रहेको बताइन् । “गाउँ गाउँमा पुगेर बालविवाह विरुद्ध काम गर्न जरुरी छ, थारुले भनिन्, “तयार हुने रणनीति अनुसार काम गर्न सकेमा छिटै बालविवाह मुक्त नगर बनाउने छौँ” ।

वडामा बालविवाहका घटनाहरू बढेसँगै किशोर किशोरीहरुद्धारा अभियान सञ्चालन गरिएको वडा न १ का अध्यक्ष जगत जिसीले बताए । कतिपय बालविवाह रोकिएको पनि भागी विवाहले बालविवाह बढेको उनले जिकिर गरे ।
सिद्धार्थ सामाजिक विकास केन्द्रका प्रबन्धक प्रकाश घिमिरेले रणनीतिको मस्यौदा प्रस्तुत गर्दै सुझाव माग गरे । बालबालिकाको विषयमा काम गर्दै केन्द्रले नगरपालिकासँग सहकार्य गरी विभिन्न कार्य गर्न तयार रहेको समेत घिमिरेले जनाए । सुझावको आधारमा रणनीति केही दिनमै तयार गरी नगरपालिकामा बुझाउने र पालिकाले थप छुटेका कुरालाई परिमार्जन गरेर काम गर्न सुरु गर्ने घिमिरेले जानकारी दिए ।
पारिवारिक समस्या, आफै विवाह गर्नुले बालविवाहलाई बढवा दिएको देखिन्छ । बालविवाहका कारण पारिवारिक समस्या, विद्यालय छोड्नुपर्ने, स्वास्थ्यमा समस्या, लैंगिक हिंसाका घटनाहरू समेत बढ्दै गएकाे छ । शिवराज नगरपालिका-२, लुम्बिनी रिसोर्टमा भएका कार्यक्रममा नगरका शाखाका प्रमुख, विभिन्न संघ संस्थाका प्रतिनिधि, सिद्धार्थ सामाजिक केन्द्रका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।




















