काठमाडौं:= नेपाली फिल्म प्रेमगीतको तेस्रो सिक्वेल आगामी फागुन १३ गते मुलुकभर प्रदर्शन हुँदैछ । कोरोना भाइरस (कोभिड-१९)को महामारीका कारण प्रदर्शन हुन नसकेको चलचित्रको रिलिज अन्ततः हुन लागेको हो । रिलिजमा ढिलाइ भए पनि फिल्मको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा भने फाइदा पुगेको छ । यो चलचित्रको भारतको वितरण अधिकार इम्पोसिबल नामक भारतीय कम्पनीले लिएको छ ।
चलचित्र निर्माण कम्पनी आसुसेन फिल्म्सले बुधबार विज्ञप्ति जारी गर्दै हिन्दी संस्करणको पोष्ट-प्रोडक्सन करिब अन्तिम चरणमा पुगेको जनाएको छ । हिन्दी संस्करणको सांगीतिक कार्य सकिएको निर्माता सन्तोष सेनले बताउनुभएको छ ।चलचित्रका मुख्य तीनवटा गीतमा बलिउडका चर्चित सांगीतिक हस्तीले साथ दिनुभएको जनाइएको छ । राहत फतेहले ‘ए सनम तुही तु’, अंकित तिवारी र पलक मुछालले ‘तुम प्यार हो’मा स्वर दिनुभएको छ ।
डान्स नम्बर ‘मुझमे बस जनामा’ देव नेगी र पलक मुछालले गाउनुभएको छ । यो ट्र्याकलाई कुमार र एम तुराजले लेख्नुभएको हो । ‘हिन्दी संस्करणको सबै गीतको काम सकिएको छ’ प्रेषित विज्ञप्तिमा भनिएको छ । प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा र शिव श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्रलाई सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गर्नुभएको छ ।




















