अष्ट्रेलियाका अन्तर्राष्ट्रिय सीमा खुल्ला।

सिडनी:= अष्ट्रेलियाले विदेशी पर्यटक, भिजाबाहक विद्यार्थी र दक्ष कामदारको लागि बुधबारदेखी अन्तर्राष्ट्रिय सीमा पुनः खुला गरेको छ । प्रधानमन्त्री स्कट मोरिसन र स्वास्थ्यमन्त्री गे्रग हन्टले पुनः अन्तर्राष्ट्रिय सीमा खुला गर्ने बताएसँगै अन्तर्राष्ट्रिय सीमा खुला गरिएको हो ।

अष्ट्रेलियाली मन्त्रिपरिषद् र प्रमुख चिकित्सा सल्लाहकारको सुझाव अनुसार तत्काललाई सीमा खुला गर्ने निर्णय भएको थियो । यसअघि त्यहाँको संघीय सरकारले कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण फैलन थालेसँगै डिसेम्बर १ देखि १५ सम्म लगाइएको सीमा बन्दलाई थप विस्तार गर्न सकिनेबारे बताएको थियो ।

अष्ट्रेलिया प्रवेश गर्न चाहनेले कोभिड–१९ विरुद्ध त्यहाँको सरकारले अनुमति दिएका खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने र पिसीआरको नेगेटिभ रिपोर्टलाई अनिवार्य गरिएको छ ।

सीमा खुलाएसँगै अब कोरोना खोपको दुवै मात्रा लगाएका विद्यार्थीहरू अष्ट्रेलियामा जान पाउने भएका छन् । खोपको दुई मात्रा लगाएका विद्यार्थी, दक्ष कामदार, दक्ष आप्रवासीहरू, शरणार्थीहरू अब अष्ट्रेलिया अब जान पाउने भएका हुन् । अष्ट्रेलियाको सीमा नाका खोलेसँगै नेपाली विद्यार्थीहरूलाई पनि राहत पुगेको छ ।

लामो समयदेखि हातमा भिसा लिएर बसेका विद्यार्थीहरूको बाटो अब खुलेको छ । अष्ट्रेलियमा बसोबास गर्दै आएको विद्यार्थी तथा अन्यका परिवारका सदस्यहरू पनि अब जान पाउने भएका छन् । करिब पाँच हजार विद्यार्थीहरू कोभिड–१९ को कारण अष्ट्रेलिया जान पाएका थिएनन् ।