प्रदेश नं २ प्रदेशसभा : लोसपाको विरोधकैबीच दुई अध्यादेश पेश।

जनकपुरधाम:= प्रदेश नं २ को प्रदेशसभा बैठकमा दुईवटा अध्यादेश पेश गरिएका छन् । सरकारको तर्फबाट सामाजिक विकासमन्त्री नवलकिशोर साहले बुधबार दुई अध्यादेश प्रदेशसभामा पेश गर्नुभएको हो । मन्त्री साहले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ प्रदेशसभामा पेश गर्नुभएको हो ।

अध्यादेश पेश भएसँगै प्रदेशसभा बैठक स्थगित भएको थियो । लोसपाको विरोधका बाबजुद प्रदेशसभामा सरकारको तर्फबाट दुईवटा अध्यादेशहरू पेश भएका हुन् । सबैको चासोको विषय प्रदेश २ को नाम र राजधानीसम्बन्धी प्रस्ताव भने कार्यसूचीबाटै हटाइएको छ । प्रदेशसभाको अर्को बैठक पुस ८ गते बिहीबारसम्मका लागि स्थगित भएको सभामुख सरोजकुमार यादवले घोषणा गर्नुभयो ।

सभामुख यादवले नेपाली कांग्रेसका सांसदहरू महाधिवेशनका लागि काठमाडौंमा रहेको र आफूहरूको महाधिवेशनपछि मात्र नाम र राजधानीको प्रस्ताव ल्याउन आग्रह गरेकाले सो प्रस्ताव कार्यसूचीबाट हटाइएको बताउनुभयो। बुधबार राजधानी सम्बन्धमा प्रस्ताव पेश हुने र त्यसमा छलफल हुने सूची रहे पनि प्रदेशसभा र सरकारको दोस्रो ठूलो दल कांग्रेसको अनुपस्थितिमा छलफलको औचित्य नरहेको सभामुखको भनाइ छ ।

यता, बैठकको सुरुमै अध्यादेशको विरोध गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसदले प्रदेशसभा बैठक अवरुद्ध पारेका थिए । पार्टीका प्रमुख सचेतक परमेश्वर साहले प्रदेशसभा बैठक छलेर अध्यादेश ल्याइएको भन्दै बैठक अवरुद्ध गराइएको जानकारी दिनुभयो । यो अध्यादेश अलोकतान्त्रिक रहेकाले यसलाई टेबुल हुन नदिने भन्दै बैठक अवरुद्ध गरिएको थियो । उहाँले अध्यादेश फिर्ता नहुँदासम्म संसद् चल्न नदिने पनि बताउनुभएको थियो ।

लोसपा सांसदको अवरोधका कारण १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएका सभामुख यादवले त्यसपछिको बैठकमा भने विरोधकै बीच अध्यादेश पेश गर्न दिनुभएको थियो । लोसपा सचेतक साहले आफूहरूको विरोधका बाबजुद अध्यादेश पेश गरिएको भन्दै चलिरहेको प्रदेशसभालाई बन्द गरी अध्यादेश ल्याएर सरकारले अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको बताउनुभयो ।

मुख्यमन्त्री राउतको राजीनामा माग

प्रदेश नं २ को प्रदेशसभा बैठकमा लोसपाका सांसदले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन् । ‘बेटी बचाऊ बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत भएको साइकल खरिदमा अनियमितता देखिएकाले मुख्यमन्त्री राउतलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनलले माग गर्नुभयो ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेर कागजात लिएपछि मुख्यमन्त्रीले प्रदेशसभाकै बैठकमा अलिकति दोषी देखिए मार्गप्रशस्त गर्छु भन्नुभएको थियो’, सोनलले प्रश्न गर्नुभयो, ‘अख्तियार प्रमुखले त साइकल खरिदको कागजात हेर्दा पहिलो चरणमा भ्रष्टाचार भएको भनिसकेको छ, यसबारे के भन्नुहुन्छ मुख्यमन्त्रीज्यू ?’

प्रदेश २ को नाम चाँडै टुंगो लाग्छ : मुख्यमन्त्री राउत 

त्यसअघि बुधबारकै सभामा विशेष समयमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश २ को नाम र राजधानीको छिट्टै निष्कर्ष लाग्ने बताउनुभएको छ । प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यही अधिवेशनले प्रदेशको नामकरण र राजधानीको टुंगो लाग्ने बताउनुभएको हो ।

प्रदेशको नामकरण नहुँदा आफूहरूलाई घोच्याउने गरेको बताउँदै उहाँले विपक्षी दल र सरकारमा रहेका दलहरू घनीभूत बैठक गरेर टुंग्याउनुपर्ने बताउनुभयो । नामको टुंगो नलाग्दा प्रदेश २ या २ नम्बर प्रदेश भनिँदै आएको र यसले आफैँलाई नै घोच्ने र पीडा हुने देखिएको उहाँको भनाइ छ ।