पिएसएलमा बिक्री भएनन् नेपाली क्रिकेट खेलाडी।

काठमाडौं:= पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ को ड्राफ्टमा रहेका ११ नेपाली खेलाडीलाई कुनै पनि टोलीले खरिद गरेको छैन । आइतबार भएको ड्राफ्टबाट नेपाली क्रिकेटका ग्लोबल स्टार सन्दीप लामिछानेसहित ११ खेलाडीहरू बिकेनन्।

आयोजक पाकिस्तानी क्रिकेट बोर्डले ड्राफ्टमा रहेका खेलाडीलाई प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भर श्रेणीमा विभाजन गरेको थियो । आयोजकले खेलाडीको अनुभव र क्षमताका आधारमा छुट्टाएको श्रेणीअनुसार प्लाटिनम क्याटेगोरीमा नेपालका सन्दीप लामिछाने पर्नुभएको थियो । त्यसबाहेक राष्ट्रिय टोलीका नियमित सदस्य तथा विकेटकिपर विनोद भण्डारीले गोल्ड क्याटेगोरीमा हुनुहुन्थ्यो ।

सिल्भर विदेशी कोटामा स्पिनर सुशन भारी, तीव्रगतिका बलर सोमपाल कामी, स्पिनर साहब आलम, ब्याट्सम्यान शरद भेषवाकर, ब्याट्सम्यान सुवास खकुरेल, स्पिनर ललित नारायण राजवंशी, ब्याट्सम्यान पवन सरार्फ, स्पिनर वसन्त रेग्मी र तीव्र गतिका बलर विक्रम सोब रहनुभएको थियो ।

हरेक टोलीले समान तीन/तीन प्लाटिनम, डायमण्ड, र गोल्ड क्याटेगोरीका खेलाडी अनुबन्ध गर्नुपर्ने हुन्छ । त्यसबाहेक पाँच सिल्भर, इमर्जिङ र पूरक दुई÷दुई खेलाडी अनुबन्ध गर्न पाउने आयोजकले प्रावधान राखेको छ ।

एउटा टोलीमा १६ विदेशी खेलाडी रहने व्यवस्था गरिएको छ । जसमा ११ पाकिस्तानी खेलाडी हुनुपर्ने भने बाँकी विदेशी खेलाडी राख्न पाइनेछन् । प्लेइङ ११ मा एउटा टोलीले बढीमा चारजना विदेशी खेलाडी खेलाउन पाउने प्रावधान तोकिएको छ।

सन्दीप रहेको प्लाटिनम क्याटेगोरी अनुबन्ध हुने खेलाडीले एक लाख ३० हजारदेखि एक लाख ७० हजार डलरसम्म पारिश्रमिक पाउनेछन् । सिल्भरमा रहेकाले १५ हजार देखि २५ हजार डलरसम्म रहनेछ । गत वर्ष प्लाटिनम क्याटेगोरीमा सन्दीप लामिछानेलाई कुनै पनि टोलीले बोली लगाएका थिएनन्।

गतवर्ष सन्दीपसँगै सिल्भर विदेशी कोटामा राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी, कप्तान ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, पारस खड्का, अभिनाश बोहोरा, पवन सर्राफ, सुवास खकुरेल र आसिफ शेख ड्राटमा पर्नुभए पनि कुनै टोलीले अनुबन्ध भने गरेका थिएनन् । पिएसएल २०२२ अगामी २७ जनवरीदेखि फेब्रुअरी २७ सम्म पाकिस्तानमा हुनेछ ।