चलचित्र ‘म’ मा निशादेखि निराजनसम्मका कलाकार।

काठमाडौं:= चलचित्र ‘म’ निर्माण हुनेभएको छ । विगत लामो समयदेखि चलचित्रसम्बन्धी अध्ययन गराउँदै आएको कन्तिपुर फिल्म एकेडेमीले पहिलो पटक निर्माण गर्न लागेको चलचित्र ‘म’को सोमबार शुभसाइत गरिएसँगै यसको निर्माण हुने भएको हो ।

पुस ११ गतेबाट छायांकन सुरु हुने भनिएको यो चलचित्र दुई वर्षअघि नै घोषणा भएको थियो । तर, कोरोना भाइरस (कोभिड-१९)का कारण छायांकन सुरु हुनसकेको थिएन । समीक्षात्मक रूपमा सफल चलचित्र ‘सुनगाभा’ का निर्देशक सुर्वण थापाले ‘म’ को निर्देशन गर्दै हुनुहुन्छ । चलचित्रको कथा कान्तिपुर फिल्म एकेडेमीका सिइओसमेत रहनुभएका प्रकाश पुरीले लेख्नुभएको हो ।

चलचित्रमा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सवीन श्रेष्ठ, निराजन प्रधान, रुविना थापा, प्रमोद अग्रहरि, संजोग रसाइली र पुनम श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहनेछ । त्यस्तै, चलचित्रमा बनिष शाहको सम्पादन, तेन्जिन पाल्देनको छायांकन र सुजन परियारको कस्टुम डिजाइन रहनेछ ।

पदम पुरी सहनिर्माता र विमला हुँमागाइँ निर्माता रहेको चलचित्रको प्रोडक्सन म्यानेजर करन सिंह हुनुहुन्छ । निर्देशक सुवर्ण थापाले चलचित्रले आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरूको कथा रहेकोे जानकारी दिनुभयो । चलचित्रको कथा अत्यन्त बलियो रहेको उहाँको भनाइ छ ।