पेरिस:= केलियन एमबाप्पेको दुई गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लिग वान फुटबलमा मोनाकोलाई २-० गोलअन्तरले पराजित गरेको छ ।
आइतबार राति भएको खेलको १२औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दै पिएसजीलाई अग्रता दिलाउनुभएको थियो । पेनाल्टी बक्समा एन्जल डी मारियालाई डिजव्रिल सिडिवेले फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै पिएसजीलाई पेनाल्टी प्रदान गर्दा एम्बाप्पे चुक्नुभएन ।
४५औँ मिनेटमा एम्बाप्पेले लियोनेल मेस्सीको पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर पार्नुभयो । यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको १८ खेलबाट ४५ अंक पुगेको छ । पिएसजीले दोस्रो स्थानको मार्सेलाई १३ अंकले पछि पारेको छ । मार्सेले एक खेल कम खेलेको छ । पराजित मोनाको २६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
यता इंग्लिस प्रिमियर लिगमा लेष्टर सिटीले न्युक्यासल युनाइटेडमाथि ४-० को शानदार जित हात पार्यो । लेष्टरको जितमा युरी टिलेमान्सले दुई तथा पाट्सन डाका र जेम्स म्याडिसनले समान एक/एक गोल गर्नुभएको थियो ।
यो जितसँगै लेष्टर १६ खेलबाट २२ अंक जोडेर आठौँ स्थानमा उक्लिएको छ । पराजित न्युक्यासल १० अंक जोडेर १९औँ स्थानमा रहेको छ । अर्काे खेलमा क्रिष्टल प्यालेसले एभर्टनलाई ३–१ ले पराजित गरेको छ । बर्नले र वेष्ट ह्यामले गोलरहित बराबरी खेलेका छन् ।




















