सियोल:= अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसन र दक्षिण कोरियाली राष्ट्रपति मुन जेए इनले ७१७ मिलियन अमेरिकी डलरको एक प्रतिरक्षा सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुनको चारदिने क्यानबेरा भ्रमणको क्रममा झण्डै एक बिलियन अष्ट्रेलियाली डलर बराबरको प्रतिरक्षा सम्झौता भएको हो ।
कोरोना महामारी सुरु भएपछि अष्ट्रेलिया भ्रमणमा निस्कने मुन पहिलो दक्षिण कोरियाली प्रमुख हुनुहुन्छ । नयाँ प्रतिरक्षा सम्झौताअनुसार दक्षिण कोरियाली प्रतिरक्षा कम्पनी हान्वाले अष्ट्रेलियाली सेनालाई तोप, सवारीसाधन र राडार उपलब्ध गराउनेछ । अष्ट्रेलिया र चीनबीच तनाव चुलिएको बेला अष्ट्रेलिया र एसियाली मुलुकबीच यस्तोखाले रक्षा सम्झौता भएको हो ।
अष्ट्रेलियाले हालै अमेरिका र बेलायतसँग मिलेर अकुस नामक आणविक पनडुब्बी निर्माण गर्ने घोषणा गरेको छ जसलाई लिएर चीनले क्रुद्ध प्रतिक्रिया जनाएको छ । अष्ट्रेलियाली प्रधानमन्त्री मरिसनका अनुसार यो रक्षा सम्झौताले उहाँको मुलुकमा तीन हजार नयाँ रोजगारी सिर्जना गर्नेछ भने त्यसको सञ्चालन दक्षिण कोरियाली कम्पनी हान्वाले गर्नेछ ।




















