काठमाडौं:= यौनजन्यविरुद्धको कथा बोकेको सरिता शाह निर्देशित लघु चलचित्र ‘फगुनिया’ले आइवार्ड प्रतिस्पर्धा-२०२१ जितेको छ । चलचित्र प्रथम हुँदा २५ हजार रुपैयाँ प्राप्त गरेको छ । द्वितीय स्थान निर्देशकद्वय पुष्पा जोशी र एञ्जिला चौधरीको ‘ललिता’ले नगद १५ हजार र तृतीय भएको निर्देशकद्वय श्रृषा कुँवर र अस्मिता लावतीको चलचित्र ‘समाइरा’ले नगद १० हजार रुपैयाँ प्राप्त गरेको छ ।
महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा आयोजना गरिएको सर्ट फिल्म प्रतिस्पर्धामा देशभरबाट महिला निर्देशकद्वारा निर्देशित १७ वटा लघुचलचित्रहरू प्रस्तुत गरिएको थियो । १४ राष्ट्रमा इकाइ तथा ५४ राष्ट्रमा सदस्यहरू फैलिएको अवार्डको नेपाल च्याप्टरले यसअघि सन् २०१९ र २०२० मा यस किसिमको प्रतिस्पर्धाको आयोजना गरिसकेको छ ।




















