निर्णायक मोडमा कांग्रेसको आन्तरिक समीकरणमा व्यापक फेरबदल।

नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिएको पौडेलको घोषणा

काठमाडौं:= १४ औं महाधिवेशनको निर्णायक मोडमा आइपुग्दा नेपाली कांग्रेसको आन्तरिक शक्ति समूहमा व्यापक फेरबदल देखिएको छ । लामो समयदेखि एकैठाउँमा भएका नेताहरू कोही छुट्टै समूह बनाएर प्रतिस्पर्धामा होमिन लागेका छन् भने कोही एकअर्कामा समाहित भएका छन् । सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको संस्थापन समूह पनि एकढिक्का देखिएन भने रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापन इतर समूह पनि तितरवितर भएको छ ।

विगत लामो समयदेखि देउवालाई साथ दिँदै आउनुभएका विमलेन्द्र निधिले त्यहाँबाट विद्रोह गरी यसअघिकै घोषणा अनुसार शनिबार सभापति पदका लागि उम्मेदवारी दर्ता गरिसक्नुभएको छ । यद्यपि उहाँले निर्वाचनका लागि आफ्नो टिम भने बनाउनुभएको छैन । संस्थापन इतर समूहको नेतृत्व गर्दै आउनुभएका पुराना र वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नै समूहमा सर्वसम्मत बन्न नसकेपछि अन्ततः सभापतिको दौडबाटै बाहिरिनुभएको छ ।

अर्कोतिर पार्टीका प्रभावशाली युवा नेता विश्वप्रकाश शर्माले पनि अन्तिम समयमा देउवाको साथ छोड्नुभएको छ । देउवाको टिमबाट महामन्त्रीको उम्मेदवार बन्न असफल भएपछि उहाँ बाध्य भएर सो समूहबाट अलग भई प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्नुभएको छ । अघिल्लो महाधिवेशनमा सभापति पदका उम्मेदवार बन्नुभएका कृष्ण सिटौलाले देउवालाई समर्थन गर्नुभएको छ ।

आफ्नो समूहका युवा नेता प्रदीप पौडेललाई महामन्त्रीमा उभ्याउने शर्तमा उहाँले देउवालाई समर्थन जनाउनुभएको छ । यता, संस्थापनइतर समूह अन्तिम समयसम्म निकै कसरत गर्दा पनि सर्वसम्मत सभापति चयन गर्न नसकेपछि आफै विग्रह भएको छ । यस समूहबाट शेखर कोइराला र प्रकाशमान सिंह सभापतिका उम्मेदवार बन्नुभएको छ । शेखर कोइरालाले पदाधिकारीमा पूरा प्यानलसहित उम्मेदवारी दिनुभएको हो ।

देउवा, कोइराला र सिंहको छुट्टाछुट्टै प्यानल

कांग्रेसको १४ औं महाधिवेशनको निर्वाचन प्रक्रिया अन्तर्गत सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवासहित ६ जनाको उम्मेदवारी परेको छ । दुई उपसभापतिका लागि सात जनाको उम्मेदवारी परेको छ । दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको छ ।

सभापतिमा देउवासँग प्रतिस्पर्धा गर्न शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले उपसभापति र महामन्त्रीसहितको समूह बनाएर उम्मेदवारी दिनुभएको छ । कल्याण गुरुङ र युवराज न्यौपानेले एकल उम्मेदवारी दिनुभएको छ ।

महामन्त्रीमा देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेलको उम्मेदवारी परेको छ । कोइराला प्यानलबाट मीनेन्द्र रिजाल र गगन थापा महामन्त्रीको उम्मेदवार हुनुहुन्छ । त्यस्तै सिंहको प्यालनबाट विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिनुभएको छ । निधिको प्यानलबाट राजाराम कार्कीले उम्मेदवारी दिनुभएको छ ।

उपसभापतिमा देउवा प्यानलबाट विजय गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बन्नुभएको छ । कोइराला प्यानलबाट उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारीको उम्मेदवारी परेको छ । सिंहको प्यानलबाट सुजाता कोइराला उपसभापतिको उम्मेदवार बन्नुभएको छ । निधिको प्यानलबाट दिव्येश्वरी शाह पनि उम्मेदवार बन्नुभएको छ । उपसभापतिमा महेश आचार्यले पनि उम्मेदवारी दिनुभएको छ ।

पार्टी प्रतिस्पर्धामा पौडेलको पूर्णविराम 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जारी १४औँ महाधिवेशनमा सभापतिको प्रतिस्पर्धाबाट बाहिरिनुभएको छ । नेतृत्व परिवर्तनमा जोड दिँदै आउनुभएका पौडेलले इतर पक्षबाट साझा उम्मेदवार तय नभएपछि एक विज्ञप्ति जारी गर्दै आफू नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिएको घोषणा गर्नुभएको हो।

‘पार्टीभित्र अहिले जुन परिस्थिति निर्माण भइरहेको छ, त्यो सन्दर्भमा मैले १४औँ महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको छु,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट मात्र गर्ने थलो होइन, यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक हुन्छ ।’

पौडेलले पछिल्लो समय कांग्रेसमा विचलन आइरहेको भन्दै संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिनुभएका पौडेल मतदान प्रक्रियामा वपन सहभागी नहुने हुनुभएको छ । पौडेलका प्रेस सहयोगी खिला कार्कीका अनुसार यो निर्णयसँगै उहाँ महाधिवेशनका कुनै गतिविधिमा संलग्न हुनुहुने छैन ।

पौडेलनिकट एक सहयोगीका अनुसार उहाँले अब नयाँ नेतृत्वका लागि हुने प्रतिस्पर्धाका क्रममा आफ्नै समूहका डा. शेखर कोइरालालाई सघाउने मनस्थिति बनाउनुभएको छ । पौडेलले पटक–पटकको वार्ताबाट पनि आफ्नै समूहका प्रकाशमान सिंह सहमतिमा आउन नमानेको निष्कर्ष पनि निकाल्नु्भएको छ ।

सहमति गर्न खोज्दा खोज्दै आफ्नै समूहबाट विद्रोह गरेर सिंहले छुट्टै टीम खडा गरेको पौडेलले निचोड निकाल्नुभएको छ । पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले आइतवार बिहानसम्म कसलाई सघाउने भन्ने ठोस निर्णय हुने जानकारी दिनुभयो ।