[ डम्मर बुढा मगर ]
बागलुङ:= बागलुङ ढोरपाटन नगरपालिका-६, ७, ८ र ९ मा पर्ने भूजीखोलाको किनारमा बसिरहनुभएकी छलिमाया सुनार बर्खाको समयमा बत्ती गयो भने पोहोरको कालोरातलाई सम्झनुहुन्छ । ‘बर्खा लाग्दा जाडै भए पनि बरु आगो तापेर बस्ने थियौँ, बर्खाको समयमा पानी प¥यो र बत्ती गयो भने सारै डर लाग्छ ।’ छलीमायाले भन्नुभयो, ‘पोहोरको बाढीले घर, पसल सबै लग्यो, अझै पनि हामी ज्यानमारा खोलाकै तिरमै बसिरहेका छौँ ।’
ढोरपाटन नगरपालिकामा गत वर्षको भदौ १७ गते राति गएको बाढीका कारण धेरैको ज्यान गयो, कैयौँ बेपत्ता हुनुका साथै करोडौँ रकम बराबरको क्षति भयो । बाढीले ढोरपाटन नगरपालिका–९ का २१ र गलकोट नगरपालिका वडा नम्बर ४ का एक जनाको ज्यान लियो । १४२ घर तथा १२ सवारी साधनमा क्षति पुग्यो, ३८ व्यक्ति बेपत्ता भएकोमा २२ जनाको मात्र शव फेला प¥यो, १६ जना अझै बेपत्ता छन् । बेपत्ताहरूको अझै पनि खोजी जारी छ ।
भुजीखोलाका बाढीपीडितले हालसम्म पनि सरकारी राहत पाउन सकेका छैनन् । गाउँमा कोही नयाँ व्यक्ति गए भने पनि राहत दिने मानशायले आएको भन्ने उनीहरूलाई लाग्छ । भुजीखोलाले दिएको चोटमा अझसम्म सरकारले राहत दिन नसकेको उनीहरूको गुनासो छ ।
ढोरपाटन नगरपालिकाकी मंगली सुनारको पनि पीडा उस्तै छ । केही होला भनेर गाउँमै फेन्सी पसल गर्नुभएकी उहाँको पनि फेन्सी पसल बाढीले बगायो । उहाँले पनि हालसम्म कुनै सरकारी राहत पाउनुभएको छैन । ‘पहिले एकपटक दुई हजार पाँच सय, एकपटक तीन हजार रुपैयाँ पाएकी थिए । त्यसपछि कुनै पनि राहत पाएकी छैन’ मंगली भन्नुहुन्छ, ‘ससुरा हुने बेलासम्म राहत मिलेको थियो, ससुरा ढोर गएपछि केही पनि पाएको छैन ।’
बाढीलगत्तै देश तथा विदेशमा रहेका नेपालीहरूले पीडितहरूलाई राहत रकम संकलन गरेका थिए । देश तथा विदेशमा रहेको नेपालीहरूले संकलन गरेको करिब दुई करोड ४६ लाख रुपैयाँ ढोरपाटन नगरपालिकालाई हस्तान्तरण गरेका थिए । सो रकम एकद्वार प्रणालीमार्फत ढोरपाटन नगरपालिकाले हस्तान्तरण गरेको जानकारी दिएको छ ।
नगरपालिकाले ९७ परिवारलाई दुई लाखका दरले नगद र जस्तापाता प्रदान गरेको थियो । सो रकममा पनि नगरपालिकाले धेरै रकम दिएको भन्ने देखाएर थोरै रकम हातमा थमाएको स्थानीय लक्ष्मण विकले बताउनुभयो । विक भन्नुहुन्छ, ‘सरकारले घोषणा गरेको चार लाख हालसम्म पाएका छैनौँ, देशविदेशमा रहेकाले संकलन गरेर हस्तान्तरण गरेको दुई लाख त पायौँ, तर हामीलाई दुई लाख दिएको भनेर हस्ताक्षर गराइयो, पाउन केही व्यक्तिहरूले एकदुई हजार कम पायौँ ।’
रकम कम भएको विषयमा नगरपालिकाकी उपमेयर करमती पुनलाई ध्यानाकर्षणसमेत गराएको उहाँले बताउनुभयो । ढोरपाटन नगरपालिकाकी उपमेयर करमती पुनले भने नियोजित रूपमा यस्तो गरिएको हुन सक्ने शंका व्यक्त गर्नुभयो । चारजना व्यक्ति आफूसँग रकम कम भएर आएको उहाँले बताउनुभयो । ‘हामीले सबैलाई दिँदा राम्रोसंग गनेरै दिएका थियौँ, कतै होटलभित्र छिरेर कम छ भनेर देखाउनुभयो कि कतै नगरपालिकालाई नराम्रो बनाउन कम छ भन्नुभयो कि ?’ उपमेयर पुनले भन्नुभयो, ‘रकम दिएपछि उहाँहरूले ठाउँमै रुजु गर्नुपर्दथ्यो, तर उहाँहरूले हस्ताक्षर गर्नुभयो, केही समयपछि पैसा कम भयो भनेर आउनुभयो ।’
ढोरपाटन नगरपालिकाका १२६ घरसहित जिल्लाभरका करिब ६३२ घर पुनर्निर्माण गर्नुपर्ने सूचीमा छन् । जिल्ला प्रशासन कार्यालय बागलुङका अनुसार पीडितले रकम पाउनका लागि गण्डकी प्रदेशले ३० प्रतिशत र नगरपालिकाले १५ प्रतिशत र गाउँपालिकाले १० प्रतिशत रकम जम्मा गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।
सो रकम पालिकाले जम्मा नगर्दा पीडितको हातमा नपरेको प्रशासन कार्यालयको भनाइ छ । पुनर्निर्माण गर्नुपर्ने घरहरूको संख्या धेरै भएकाले पालिकाबाट १५ प्रतिशत रकम जम्मा गर्न नसकिएको नगरपालिकाले जनाएको छ । ‘पहिले हामीले थोरै क्षति भएका पीडितले पनि घर बनाउन र सबैलाई सहज होस् भन्ने हाम्रो सोच थियो, ३० घरभन्दा धेरै पूर्ण क्षति भएकै छैनन्, तर वडाले सबैलाई पूर्ण क्षति भनेर कागज बनायो, अहिले सो कुराले बोझ बनाएको छ’ कार्यविधि अनुरूपको १५ प्रतिशत पालिकाले केही समयमा जिल्ला प्रशासन कार्यालयमा जम्मा गरिने उहाँको भनाइ छ ।
हालसम्म अधिकांश पीडितले सरकारबाट पाउनुपर्ने राहत रकम पाउन नसकेको गुनासो गर्दै आएका छन् । उनीहरूको समस्यालाई सरकारले नजरअन्दाज गरेको स्थानीयहरू बताउँछन् ।




















