काठमाडौं:= श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चुस्त श्रम प्रशासन, स्वदेशमै रोजगारी सिर्जना, सीपयुक्त जनशक्तिको उत्पादन र वैदेशिक रोजगारका क्रममा देखिएका चुनौती समाधानका लागि कार्यदल गठन गरेको छ ।
श्रममन्त्री कृष्णकुमार श्रेष्ठले समस्याको दीर्घकालीन समाधान खोज्न तीनवटा कार्यदल गठन गर्नुभएको हो । आन्तरिक रोजगारको व्यवस्थापन तथा वैदेशिक रोजगारीका विद्यमान समस्या र चुनौतीको उचित सम्बोधन तथा व्यवस्थापनका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ ।
कार्यदलले सीप विकाससम्बन्धी तालिम एकीकृत संरचनामार्फत् सञ्चालन गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन, नीतिगत सुधार गर्न, श्रम कूटनीतिलाई प्रभावकारी बनाउन सुझाव दिनेछ । कार्यदललाई १५ दिनको समय दिइएको छ ।
त्यस्तै सीप विकाससँग सम्बन्धित तालिम एकीकृत संरचनामार्फत् सञ्चालन गर्न सम्भावना र चुनौतीबारे अध्ययन गर्न व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक बद्रीनाथ अधिकारीको संयोजकत्वमा विभिन्न मन्त्रालय र राष्ट्रिय योजना आयोगका प्रतिनिधि सम्मिलित छ सदस्यीय कार्यदल बनाइएको छ ।
मन्त्रालय र मातहतका निकायको संगठनात्मक संरचनाको अवस्थाबारे अध्ययन गर्न पनि कार्यदल बनाइएको छ । मन्त्रालयका सहसचिव रामचन्द्र ढकालको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले वैदेशिक रोजगार तथा श्रम कार्यालयका समस्या, चुनौती र समाधानका उपायका साथै श्रम सहचारी नियुक्ति मापदण्डबारे पनि सुझाव पेस गर्नेछ ।
वैदेशिक रोजगार व्यवस्थापन तथा समग्र कार्यप्रणाली व्यवस्थित गर्न सहसचिव शेषनारायण पौडेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ ।




















