काठमाडौं:= चलचित्रकर्मी कल्याणकारी कोषमा सहयोग रमक जुट्ने क्रम जारी छ । अशक्त तथा आर्थिक अवस्था कमजोर भएका चलचित्रकर्मीलाई आर्थिक सहयोग गर्ने उद्देश्यले स्थापना भएको यस कल्याणकारी कोषलाई अमेरिकाका लागि नेपाली महावाणिज्यदूत प्रेमराजा महतले एकलाख तीन हजार रुपैयाँ, निर्मात्री शारदा बस्नेतले ५१ हजार रुपैयाँ, अभिनेता पल शाहले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ ।
राजधानीमा आयोजित एक समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, कल्याणकारी कोषकी संयोजक वसुन्धरा भुसाल, चलचित्र द्वन्द्व संघका अध्यक्ष नारायण प्रधानले कदरपत्र प्रदान गर्नुभयो ।
समारोहमा कोषकी संयोजक वसुन्धरा भुसालले सम्पूर्ण सहयोगी मन, दाता, संघसंस्था सबैमा धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि सहयोगको अपेक्ष गरेको बताउनुभयो । समारोहमा कल्याण कोषकी सदस्यसमेत रहेकी अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले आफ्नो तर्फबाट एक लाख रुपैयाँ तथा चलचित्रकर्मी दीपकराज गिरीको तर्फबाट एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभयो ।




















