माओवादी केन्द्रले गठन गर्‍यो ३३ विभाग, प्रचण्डलाई स्कुल र नारायणकाजीलाई विदेश विभागको जिम्मेवारी।

[ चिन्तन क्षेत्री ] 

काठमाडौं:= नेकपा माओवादी केन्द्रले विभिन्न ३४ वटा पार्टीका विभाग र प्रतिष्ठानमा प्रमुख, उपप्रमुख र सदस्यहरू तोकेको छ । माओवादी केन्द्रले स्कुल विभागदेखि संगठन विभाग र आर्थिक लगायतका विभागमा प्रमुख उपप्रमुख तोकेको हो । विभागहरूमा प्रमुख र उपप्रमुखको जिम्मेवारी पार्टी नेताहरूले नै पाए पनि विभागमा विषय विज्ञसमेत समेटिएका छन् ।

माओवादीको स्कुल विभागमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इञ्चार्ज बन्नुभएको छ । सो विभागको प्रमुखको जिम्मेवारी नेता गिरिराजमणि पोखरेललाई दिइएको छ । यस्तै, संघीय संसदीय विभागको प्रमुख अध्यक्ष प्रचण्ड नै बन्नुभएको छ ।

उपप्रमुखमा कृष्णबहादुर महरालाई जिम्मेवारी दिइएको छ । सो विभागका लागि बोर्डको २१ जना र सात प्रदेशका दलका नेता तथा सचेतक र १४ जना गरी ३५ सदस्य रहने व्यवस्था गरिएको छ । बैठकहरूमा नारायणकाजी श्रेष्ठ आमन्त्रित रूपमा रहने व्यवस्था गरिएको छ भने, मन्त्रीहरूलाई आमन्त्रण गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

विदेश विभागको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाउनुभएको छ । यस्तै, उपप्रमुखमा सुरेन्द्रकुमार कार्की चयन हुनुभएको छ । यसैगरी संगठन विभागमा जनार्दन शर्मा प्रमुख तोकिँदा उपप्रमुखको जिम्मेवारी अहिलेसम्म कसैलाई दिइएको छैन । सो विभागमा सबै प्रदेश, विशेष प्रदेश, प्रवास समिति र सम्पर्क समितिका इञ्चार्जहरू गरी १३ सदस्य चयन भएका छन् । अन्य सदस्य चयन गर्न बाँकी रहेको छ । सो विभागमा ३६ सदस्य रहने व्यवस्था गरिएकोमा अहिले ३५ जना मात्रै चयन भएका छन् ।

अर्थ र योजना विभाग प्रमुखको जिम्मेवारी नेता वर्षमानलाई दिइएको छ । सो विभागमा विन्दमान विष्ट उपप्रमुखको जिम्मेवारीमा हुनुहुन्छ । ३५ सदस्यीय विभागमा ३४ जना चयन भएका छन् । ३५ सदस्य रहने उद्योग तथा वाणिज्य विभागमा वामदेव क्षेत्रीलाई प्रमुखको जिम्मेवारी दिइएको छ । उपप्रमखमा कृष्ण आचार्य हुनुहुन्छ ।

यसैगरी, उपभोक्ता हित तथा आपूर्ति विभाग प्रमुखको जिम्मेवारी मातृका यादवले पाउनुभएको छ । उपप्रमुख चयन नगरिएको सो विभागमा ३५ सदस्य रहने व्यवस्था गरिएकोमा २५ जनालाई मात्रै जिम्मेवारी दिइएको छ । बाँकी १० जना सदस्य पछि चयन हुने माओवादी केन्द्रले जनाएको छ । यसैगरी, कृषि तथा भूमिसुधार विभागको प्रमुखमा हरिबोल गजुरेल र उपप्रमखमा पूर्णकुमारी सुवेदीले जिम्मेवारी पाउनुभएको छ । विभाग ३५ सदस्यीय रहेको छ ।

यस्तै, कोष तथा आर्थिक व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी डोरप्रसाद उपाध्यायले पाउनुभएको छ, भने उपप्रमुखको जिम्मेवारी विमल अधिकारीलाई दिइएको छ । विभागमा पाँच सदस्य पछि चयन गर्नेगरी अहिले ३० जनालाई जिम्मेवारी तोकिएको छ । विना मगर प्रमुख रहने गरी गठन भएको खानेपानी तथा सरसफाइ विभागमा उपप्रमुख तोकिएको छैन । ३५ सदस्यीय सो विभागमा अहिले २५ जनालाई मात्रै जिम्मेवारी दिइएको छ । यस्तै, जलस्रोत, सिञ्चाइ तथा ऊर्जा विभागमा लीलामणि पोखरेललाई जिम्मेवारी दिइएको छ । उपप्रमुख तोकिएको छैन ।

माओवादी केन्द्रले पार्टीको निर्वाचन विभागमा खिमलाल देवकोटालाई प्रमुखको जिम्मेवारी दिइएको छ । सो विभागमा पनि उपप्रमुख तोकिएको छैन । यस्तै, कानुन, न्याय तथा मानव अधिकार विभागमा मुक्ति नारायण प्रधानलाई प्रमुखको जिम्मेवारी दिइएको छ । सदस्यहरूमा विभिन्न अधिवक्ताहरूलाई जिम्मेवारी दिइएको छ ।

पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभाग प्रमुखमा झक्कुप्रसाद सुवेदी, र प्रचार तथा प्रकाशन विभाग प्रमुखमा कृष्णबहादुर महरालाई जिम्मेवारी दिइएको छ । उपप्रमुखमा महेश्वर दाहाल हुनुहुन्छ । यसैगरी, परशुराम तामाङ प्रमुख र हरिनारायण चौधरी उपप्रमुख रहने गरी प्रादेशिक मामला विभाग पनि गठन गरिएको छ । यस्तै, पुस्तकालय तथा अभिलेख विभागको प्रमुखमा नारायणप्रसाद शर्मा चयन हुनुभएको छ ।

हरि अधिकारी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, गणेशमान पुन युवा तथा खेलकुद विभागमा चयन हुनुभएको छ । खेलकुद विभागमा किरन राई उपप्रमुख तोकिनुभएको छ । राजकीय मामला तथा सुशासन विभाग प्रमुखमा रेखा शर्मा र उपप्रमुखमा नरेश भण्डारी चयन हुनुभएको छ । सदस्यमा पूर्व–मुख्यमसचिव लीलामणि पौडेल पनि रहनुभएको छ ।

राष्ट्रिय सुरक्षा विभाग प्रमुखमा कृष्णबहादुर महरा र उपप्रमुखमा सन्तकुमार दरै र वन तथा वातावरण विभाग प्रमुखमा शक्तिबहादुर बस्नेत र उपप्रमुखमा सुनिलकुमार मानन्धर चयन हुनुभएको छ । विज्ञान तथा प्रविधि विभाग प्रमुखमा गणेश शाह, शिक्षा तथा मानवस्रोत विभाग प्रमुखमा मायाप्रसाद शर्मा र उपप्रमुखमा जीवन गोतम, श्रम तथा रोजगार विभागमा रामेश्वर राय यादव चयन हुनुभएको छ ।

यस्तै, समाज कल्याण विभाग प्रमुखमा सत्य पहाडी, सहकारी तथा गरिबी निवारण विभागमा धर्मदत्त देवाकोटा, शहरी विकास विभाग प्रमुखमा देवेन्द्र पौडेल र उपप्रमुखमा डा. कमलबहादुर रोकाया, समान्य प्रशासन विभागमा टेकबहादुर बस्नेत, साहित्य, कला तथा संस्कृति विभाग प्रमुखमा गोपाल ठाकुर र उपप्रमुखमा सरल सहयात्री, स्थानीय तह विभागमा उर्मिला अर्याल र उपप्रमुखमा प्रकाश विकल्प, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा कल्पना धमला, विपद व्यवस्थापन विभाग प्रमुखमा सूर्य प्रकाश सुवेदीलाई चयन गरिएको छ । नीति अनुसन्धान प्रतिष्ठान पनि गठन गरिएको छ । तर, प्रमुख र उपप्रमुख तोकिएको छैन ।

पूर्व-प्रमुख निर्वाचन आयुक्तदेखि पत्रकार महासंघका महासचिवसम्म माओवादीको विभागमा

माओवादी केन्द्रले गठन गरेका विभिन्न विभागमा निर्वाचन आयोगका पूर्व-प्रमुख निर्वाचन आयुक्तदेखि पत्रकार महासंघका महासचिवसम्मलाई सदस्यमा राखिएको छ । निर्वाचन आयोगका पूर्व–प्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त सुधीर साह माओवादीको निर्वाचन विभागको सदस्य हुनुभएको छ ।

यस्तै, द्रोणबाबु सिवाकोटी पनि सदस्य बन्नुभएको छ । उहाँ चितवनको भरतपुर महानगरमा मेयरका लागि मतगणना भइरहेको बेला २०७४ सालमा मतपत्र च्यातेको आरोप खेप्दै आउनुभएको छ । मतपत्र च्यातिएपछि निर्वाचन आयोगमा मुद्दा परेको थियो । एमालेसहित अन्य दलले च्यातिएका मतपत्रसहित गणना गर्नुपर्ने माग गरेका थिए ।

तर, सो गणना गर्दा एमाले उम्मेदवार देवी ज्ञवालीले जित्ने देखिएपछि निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधी यादव र साहसहितको बहुमतले पुनः मतदान गराउने निर्णय गरेको थियो । अदालतले मतपत्र च्यात्नेमा द्रोण र अर्का व्यक्ति मधु न्यौपानेलाई दोषी ठहर गर्दै एक÷एक लाख रुपैयाँ जरिवानासमेत गरेको थियो ।

यस्तै, प्रवक्ता कृष्णबहादुर महरा प्रमुख रहेको विभागमा नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीदेखि विभिन्न पाका पत्रकारहरूलाई सदस्यका रूपमा चयन गरिएको छ । सदस्यहरूमा महासंघका पूर्व–अध्यक्ष गोविन्द आचार्य, पूर्व-उपाध्यक्ष खिलबहादुर भण्डारी, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, गोविन्द रोका ‘सचीन’, संगिता खड्का, टीकाराम राई, ओपेन्द्र शर्मा, लक्ष्मी पुनलगायत हुनुहुन्छ ।

यता, नेपाल पत्रकार महासंघका महासचिव पुरीले माओवादी केन्द्रको प्रचार विभागको जिम्मेवारी लिन भने अस्वीकार गर्नुभएको छ । पुरीले पत्रकार महासंघको महासचिव रहेसम्म पार्टीको प्रचार विभाग वा पार्टीका अन्य निकायमा नरहनेसमेत बताउनुभएको छ । नेपाल पत्रकार महासंघको विधानमा महासंघमा आबद्ध कुनै पनि सदस्य कुनै पनि पार्टीको कार्यकारी समितिमा रहन नपाउने उल्लेख छ ।