प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बारको प्रदर्शन जारी।

सबै राजनीतिक दलहरू प्रधानन्यायाधीशको विपक्षमा छन् : श्रेष्ठ

काठमाडौं:= नेपाल बार एसोसिएसनले बुधबार पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको परिवारबाटै न्यायालयमा बिचौलियाको संरक्षण भइरहेको आरोप लगाउनुभयो ।

उहाँले प्रमुख राजनीतिक दलहरूलाई भेट्दा पनि सबैले उहाँको विपक्षमा अभिव्यक्ति दिएकाले प्रधानन्यायधीशको बहिगर्मनले नै न्यायालय शुद्ध हुने बताउनभयो । अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘परिवारबाटै बिचौलियाको संरक्षण गर्ने काम भइरहेको छ, चोलेन्द्र शमशेर जबराबाट । यो चोलेन्द्र शमशेर जबराको बिचौलियापनलाई रोक्नका लागि बिचौलिया रोक्ने संयन्त्र बनाउनका लागि पनि प्रतिवेदन दिएका छन् ।

तर, उनी बिचौलिया रोक्नका लागि तयार छैनन् । भ्रष्टाचार रोक्नको लागि तयार छैनन् । विसंगति रोक्नको लागि तयार छैनन् । बरु झाँगिन तयार भएको हुनाले राजीनामाको साथसाथै संविधान, कानुन र नैतिकताको आधारमा उहाँलाई बहिर्गमन गराउनको लागि हामीले धेरै पहल गरिरहेका छौँ । हामीले जसलाई भेट्यौँ उहाँहरूले चोलेन्द्र शमशेरलाई निकाल्नुपर्ने कुरा भन्नुभएको छ । न्यायालयमा स्वच्छता भएन भन्ने कुरा गर्नुभएको छ ।’

कार्यक्रममा वरिष्ठ अधिवक्ता हरि उप्रेतीले सरकारले तत्काल प्रधानन्यायाधीशलाई दिइरहेको सवारीसाधनको सुविधा र सुरक्षाको सुविधा खोस्नुपर्ने बताउनुभयो । उहाँले प्रधानन्यायाधीशले पदअनुसार काम गर्न नसकेको भन्दै अब प्रधानन्यायाधीशलाई सरकारी सुविधा दिइरहनु नपर्ने बताउनुभयो । उहाँले अहिले प्रधानन्यायाधीश एउटा मूर्ति जस्तै भएको बताउँदै न्यायमा सक्रिय हुने, न्यायपालिकाको नेतृत्व गर्ने मान्छे मात्रै प्रधानन्यायाधीश हुनसक्ने बताउनुभयो ।

वरिष्ठ अधिवक्ता उप्रेतीले भन्नुभयो, ‘मलाई लाग्छ संसारको कुनै पनि देशको मुद्दाको पेसी पनि तोक्न नपाउने, मुद्दा हेर्न पनि नपाउने अरू सहयात्री न्यायाधीशहरूसँग बस्न पनि नपाउने, फैसला गर्न पनि नपाउने भएर बस्ने पनि दुनियाँमा प्रधानन्यायाधीश हुन्छ । यो प्रधानन्यायाधीश एउटा मूर्ति बसेको खालको मात्रै हो । न्यायमा सक्रिय हुने, न्यायपालिकाको नेतृत्व गर्ने मान्छे मात्रै प्रधानन्यायाधीश हुनसक्छ । जसले प्रधानन्यायाधीशको भूमिका निर्वाह गरेको छैन ।

जसको पृष्ठभूमि यति विवादास्पद भइसकेको छ, सम्पूर्ण विचार बोक्ने, सम्पूर्ण आस्था भएका कानुन व्यवसायीहरूको साझा संगठन नेपाल बार एसोसिएसनले आज यति लामो आन्दोलन गरिरहेको छ । प्रधानन्यायाधीशको भूमिका निर्वाह गर्न सक्दैनन् भने त्यस्ता मान्छेले त्यो सुविधा उपभोग गरेर बस्नुपर्ने अवस्था छैन ।’ वरिष्ठ अधिवक्ता उप्रेतीले पदीय आचरणअनुसार काम गर्न नसकेको भन्दै प्रधानन्यायाधीश जबरालाई तत्काल राजीनामा दिन दबाब दिनुभयो ।