कांग्रेस १४ औँ महाधिवेशन : पेचिलो बन्दै उम्मेदवार छनोटको विषय, बैठक निष्कर्षविहीन।

[ डिबी शर्मा ] 

काठमाडौं:= नेपाली कांग्रेसको संस्थापन र इतर दुवै समूहलाई साझा उम्मेदवार छान्न सकस परेको छ । महाधिवेशन हुन एकदिन मात्रै बाँकी रहँदा दुवै समूहलाई उम्मेदवार छनोटको विषय पेचिलो बन्दै गएको हो । सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवार छान्न दुवै पक्षले छुट्टाछुट्टै छलफल गरे पनि कुनै सहमति हुन सकेन ।

बुधबार वर्तमान सभापति शेरबहादुर देउवा पक्ष र संस्थापनइतर नेता रामचन्द्र पौडेल समूहका नेताहरूले दिनभरजसो छलफल गरे पनि उम्मेदवार छान्न असफल भएका हुन् । संस्थापन समूहमा सभापतिमा देउवा निर्विकल्प भए पनि अन्य पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवार छान्न सकस परेको हो । सभापतिबाहेकका पदमा आकांक्षी धेरै भएपछि देउवालाई टिम मिलाउन समस्या भएको हो ।

तर, इतर समूहमा भने सभापतिकै साझा उम्मेदवार छान्न सकस परेको छ । इतर समूहमा नेता रामचन्द्र पौडेलसहित पूर्व–महामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिका आकांक्षी हुनुहुन्छ । चार जनामध्ये दुईजनामा सहमति हुने देखिए पनि अन्तिममा दुई जनामा कुरो अड्किएको छ ।

महामन्त्री शशांकले साझा उम्मेदवार तय गर्ने भए आफू पछि हट्न तयार रहेको जनाइसक्नु भएको छ । पौडेल पनि साझा उम्मेदवार भए त्याग गर्न तयार हुनुहन्छ । तर, नेता प्रकाशमान सिंह र शेखर कोइरालाबीच सहमति हुन नसक्दा दिनहुँका छलफल निष्कर्षविहीन बन्ने गरेका छन् ।

संस्थापन पक्षको निष्कर्ष : पार्टीको नेतृत्वमा देउवाको विकल्प छैन

टुंग्याउन सकेन पदाधिकारीका उम्मेदवार

पदाधिकारीका उम्मेदवारबारे सभापति देउवाले नै निर्णय लिनुहुन्छ : डा. महत

कांग्रेसको संस्थापन पक्षको बैठकले पार्टीको नेतृत्वमा सभापति शेरबहादुर देउवाको विकल्प नभएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवानिवास बूढानीलकण्ठमा बुधबार बसेको समूहको बैठकले नेतृत्व परिवर्तन आवश्यक नरहेको निष्कर्ष निकालेको हो ।

बरु देउवाको नेतृत्व आवश्यक रहेको निष्कर्ष बैठकले निकालेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । सभापति देउवामा विभिन्न विचारधारा भएका दलहरूलाई जोड्न सक्ने गुण भएकाले पार्टीको सभापतिमा देउवा नै रहनुपर्ने उहाँले बताउनुभयो ‘१४औँ महाधिवेशनमा उहाँको नेतृत्वमा पार्टी जानुपर्दछ र आम निर्वाचनमा उहाँकै नेतृत्वमा पार्टीले सफलता प्राप्त गर्न सक्दछ भन्ने निष्कर्ष निकालिएको छ,’ उहाँले भन्नुभयो ।

बैठकले पदाधिकारीका विषयमा भने बुधबार टुंगो लगाउन सकेन । पदाधिकारी र केन्द्रीय सदस्यमा आकंक्षा राख्नेहरूसँग परामर्श गरेर निष्कर्षमा पुग्ने महतले दाबी गर्नुभयो । पदाधिकारीका उम्मेदवारबारे सभापति देउवाले नै निर्णय लिने उहाँको भनाइ छ । त्यस्तै, गृहमन्त्रीसमेत रहनुभएका नेता बालकृष्ण खाँणले पनि देउवालाई नै पार्टी सभापतिका रूपमा अघि बढाउन सहमति भएको जानकारी दिनुभयो । उहाँले महाधिवेशनपछि पदाधिकारी थप गर्ने विषयमा छलफल भएको बताउनुभयो ।

संस्थापनइतर समूहमा पनि जुटेन सहमति

सभापतिका आकांक्षीलाई पौडेलले भन्नुभयो, सबै सभापतिमा लड्ने हो भने म कांग्रेसबाट बिदा हुन्छु

सभापतिको साझा उम्मेदवारबारे सहमति जुटाउन बसेको संस्थापनइतर समूहको बैठक बुधबार पनि बिनानिष्कर्ष टुंगिएको छ । नेताहरूबीच सहमति नभएपछि बिहीबार सभापतिको आकांक्षीबाहेक केन्द्रीय सदस्यहरूको बैठक बस्ने र विकल्प सुझाउने कांग्रेस नेता गुरुराज घिमिरेले जानकारी दिनुभयो । घिमिरेले केन्द्रीय सदस्यहरूले दिएको सुझावका आधारमा अघि बढ्ने उल्लेख गर्नुभयो । साझा उम्मेदवार तय गर्नका लागि बिहीबार फेरि बैठक बस्ने भएको छ ।

बुधबार बिहान बानेश्वरमा बसेको बैठकमा साझा उम्मेदवारको विषयमा सहमति जुट्न नसकेपछि दिउँसो नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा शीर्ष नेताहरूको बैठक बसेको थियो । चाक्सीबारीको बैठकमा सभापतिका आकांक्षीहरू नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला सहभागी हुनुहुन्थ्यो ।

छलफलका क्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा साझा उम्मेदवार बनाउन नसके आफू पार्टीबाटै बिदा हुने बताउनुभएको थियो । नेताहरूबीच सहमति नभएपछि पौडेलले आफूलाई सहयोग गर्न पनि आग्रह गर्नुभएको कांग्रेस नेता डा. रामशरण महतले जानकारी दिनुभयो । ‘सबैजना लड्ने र नमिल्ने भए म पार्टीबाट बिदा हुन्छु, म अब घरमै आराम गर्छु भनेर भन्नुभयो,’ नेता महतले सञ्चारकर्मीसँग भन्नुभयो, ‘अहिलेसम्मको अवस्था हेर्दा मिल्ने देखिँदैन । सबैजना आ-आफ्नो अडानमा हुनुहुन्छ ।’

यसअघि संस्थापनइतर समूहका नेताहरूले साझा उम्मेदवार चयन गर्न शीर्ष नेताहरूलाई दबाब दिएका थिए । बुधबार काठमाडौंमा बसेको संस्थापनइतर पक्षका नेताहरूको बैठकले महाधिवेशनमा सभापतिका लागि साझा उम्मेदवार चयन गर्न शीर्षनेताहरूलाई दबाब दिएका हुन् ।

संस्थापनइतर पक्षका विभिन्न जिल्लाका सभापति र पार्टी केन्द्रीय सदस्यहरूसँग छलफल गर्दा साझा उम्मेदवार दिन दबाब दिएको नेता अर्जुननरसिंह केसीले बताउनुभयो । नेता केसीले संस्थापनइतर समूहबाट नेता सिंह र शेखर कोइराला मिलेर आए नेता पौडेल र महामन्त्री शशांक कोइरालाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको जानकारीसमेत दिनुभयो । कांग्रेसको १४औँ महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।

६ बुँदे आचारसंहिता जारी : मतदानस्थलमा मोबाइल निषेध, मतदानस्थलको ५०० मिटर वरपर पर्चा टाँस्न नपाइने

नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि ६ बुँदे आचारसंहिता जारी गरेको छ । निर्वाचन समितिले उम्मेदवार रहने केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि, पार्टीका शुभेच्छुक समर्थकहरूको लागि आचारसंहिता लागू गरेको हो । जसअनुसार उम्मेदवारीको प्रचारप्रसार गर्दा भिजिटिङ कार्ड र सामान्य अपिल विवरणमा गर्न सकिनेछ ।

तर, कसैको पनि व्यक्तिगत चरित्रमा लाञ्छना लाग्ने गरी प्रचारप्रसार गर्न नपाइने समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै, भृकुटीमण्डपस्थित महाधिवेशनस्थल वरपर ५०० मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रकारको प्रचार सामग्री राख्न पाएने छैन भने मतदानस्थलभित्र प्रवेश गर्न प्रतिनिधिलाई मोबाइल निषेध गरिएको छ ।