नेपाली कांग्रेस १४औँ महाधिवेशनः प्रदेश अधिवेशनमा आज मनोनयन दर्ता, प्रदेश २ मा अन्योल।

काठमाडौं:= नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बिहीबारदेखि प्रदेश अधिवेशन सुरु भएको छ । बिहीबार पार्टी सभापाति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएसँगै प्रदेश अधिवेशन सुरु भएको हो। केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव जगन्नाथ श्रेष्ठले बिहीबार सातै प्रदेशमा प्रदेश अधिवेशन उद्घाटन भएको जानकारी गराउनुभयो ।

उहाँका अनुसार बिहीबार अबेरसम्म ६ प्रदेशमा नामावली पठाइसकिएको छ । प्रदेश २ मा भने शुक्रबार मात्रै नामावली पठाउने समितिको तयारी छ । ‘बिहीबार सातै प्रदेशमा अधिवेशन उद्घाटन भएको छ,’ उहाँले भन्नुभयो, ‘६ प्रदेशमा नामावलीसमेत पठाइसकिएको छ । शुक्रबार ६ प्रदेशमा मनोनयन दर्ता हुन्छ । प्रदेश २ मा भने शुक्रबार नामावली पठाउने तयारी छ ।’ प्रदेश २ मा शुक्रबार नै मनोनयन दर्ता हुनेमा भने अन्योल छ । उहाँका अनुसार शनिबार मतदान हुनेछ ।

प्रदेश नम्बर १ को विराटनगरमा, प्रदेश नम्बर २ को जनकपुरमा, बागमतीको हेटौँडामा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णलीको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश अधिवेशन हुँदैछ । प्रदेश अधिवेशनका लागि कांग्रेस केन्द्रीय समितिबाट सातजना नेतालाई संयोजन गर्ने गरी जिम्मेवारी दिइएको छ ।

प्रदेश अधिवेशनमा प्रदेशसभा क्षेत्रीय अधिवेशनका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र सांसद मतदाता हुने पार्टी विधानमा व्यवस्था छ । प्रदेशमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री रहने कांग्रेसको विधानमा उल्लेख छ ।

गण्डकीमा प्रदेश सभापतिमा उम्मेदवारी दिन ९१ हजार शुल्क

गण्डकी प्रदेशमा प्रदेश सभापतिमा उम्मेदवारी दिन ९१ हजार शुल्क तोकिएको छ । जबकि विधानअनुसार सभापतिका लागि १५ हजार, महामन्त्रीका लागि ११ हजार र पाँच हजार शुल्क तोकिएको छ । तर, गण्डकी प्रदेशमा सभापतिका लागि ९१ हजार, उपसभापतिका लागि ६१ हजार, महामन्त्रीका लागि ५१ हजार, सहमहामन्त्रीका लागि ४१ हजार र सदस्यका लागि ३१ हजार उम्मेदवारी शुल्क तोकिएको छ ।

गण्डकी प्रदेशको अधिवेशन उद्घाटनको विषयलाई लिएर विवादसमेत भएको थियो । प्रदेश सभापतिका पाँच उम्मेदवारमध्ये देउवा पक्षका नेतालाई मात्र बोल्न दिएपछि विवाद भएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कार्यकर्ताले नाराबाजी गरेका थिए ।

१६ जिल्लाको अधिवेशन स्थगित

नेपाली कांग्रेसले १६ वटा जिल्लाको अधिवेशन स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबार एक विज्ञप्ति जारी गर्दै १६ वटा जिल्लाको अधिवेशन पार्टीको १४औँ महाधिवेशनपछि हुने जानकारी दिनुभयो । सचिव जगन्नाथ श्रेष्ठका अनुसार बिहीबार बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

१४औँ महाधिवेशनअन्तर्गत प्रदेश २ का सिराह, सप्तरी, रौतहट, धनुषा, पर्सा, बारा, महोत्तरी र सर्लाही त्यस्तै, कैलाली, अछाम, बाँके, चितवन, मकवानपुर, सिन्धुली, पूर्वी नवलपरासी, र सिन्धुपाल्चोक गरी १६ वटा जिल्लाको अधिवेशन हुन बाँकी छ।

महाधिवेशनको ब्यानर सार्वजनिक

नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि आधिकारिक ब्यानर सार्वजनिक गरेको छ । बिहीबार प्रदेश अधिवेशनको भर्चुअल उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाले ब्यानर सार्वजनिक गर्नुभएको हो ।

पार्टीले महाधिवेशन अवधिभर सबै कार्यक्रममा यही ब्यानर प्रयोग गर्ने निर्वाचन प्रचारप्रसार समिति संयोजक तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । १४औँ महाधिवेशनको लागि कांग्रेसले ‘उत्साह, एकता, रूपान्तरण, सफल बनाऔँ कांग्रेसको १४औँ महाधिवेशन’ भन्ने नारा पनि तय गरेको छ ।

आगामी चुनावको तयारीमा लाग्न नेता-कार्यकर्तालाई देउवाको निर्देशन 

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावको तयारीमा लाग्न नेता–कार्यकर्तालाई निर्देशन दिनुभएको छ । बिहीबार कांग्रेसको प्रथम प्रदेश अधिवेशनको भर्चुअल उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रित हुन नेता–कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।

पार्टीभित्रको आन्तरिक चुनावमा हुने हारजित स्वाभाविक र लोकतान्त्रिक अभ्यास भएको भन्दै आगामी दिनमा जनताको विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुन आग्रह गर्नुभयो । ‘हामी केही महिनाभित्रै स्थानीय तहको निर्वाचन, एक वर्षभित्र संघ र प्रदेशको निर्वाचनमा जाँदैछौँ,’ उहाँले भन्नुभयो, ‘त्यसैले अधिवेशनलगत्तै हाम्रो ध्यान चुनावतर्फ केन्द्रित हुनुपर्दछ ।

हाम्रा आन्तरिक चुनावमा हुने जित–हार स्वाभाविक प्रक्रिया हो। लोकतान्त्रिक अभ्यास हो । आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासको रूपमा लिएर जनताको विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

प्रधानमन्त्री देउवाले प्रदेश अधिवेशनमा नेपाली कांग्रेसलाई थप सशक्त र बलियो बनाएर जनताको मन जित्ने रणनीति बनाउने विषयमा पनि छलफल गर्न आग्रह गर्नुभयो । उहाँले विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्नसक्ने दाबी गर्नुभयो।

पार्टीलाई एकताबद्ध बनाएर लैजानु अहिलेको आवश्यकता : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताबद्ध बनाएर लैजानु अहिलेको आवश्यकता भएको बताउनुभएको छ । बिहीबार पोखरामा सुरु गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहमा उहाँले बिपीको विचार र सिद्धान्तबाट पार्टी अलग भइरहेको बताउँदै उहाँका आदर्श र चिन्तनलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

समय र मागअनुसार कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले विगतको समीक्षाका आधारमा दीर्घकालीन योजनाका साथ क्रियाशील बन्नुपर्ने बताउनुभयो । लोकतान्त्रिक पद्धतिबाट चल्न नसक्दा यसले पार्टी संगठनलाई कमजोर बनाएको बताउँदै उहाँले पार्टीका आदर्श र सिद्धान्तलाई आत्मसात गर्दै संगठित र एकताबद्ध बनाएर लैजाने नेतृत्व अहिलेको आवश्यकता भएको बताउनुभयो ।

यस्तै, नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले बिपीले देखाएको बाटोमा हिँड्न नसक्दा पार्टी कमजोर बन्दै गएको बताउँदै उहाँका आदर्श र चिन्तालाई अवलम्बन गर्दै संगठनलाई थप मजबुद र क्रियाशील बनाएर जानुपर्ने बताउनुभयो । महाधिवेशनले आगामी दिनमा पार्टीलाई अझै संगठित र एकताबद्ध बनाएर लैजाने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले महाधिवेशनले पार्टीको आन्तरिक संगठनलाई चलायमान बनाएको बताउँदै यही जोस र उमंगलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेसका पूर्व-महामन्त्री एवं पूर्व-सभामुख तारानाथ रानाभाटले महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई अघि बढाएको बताउँदै निर्वाचित नेतृत्वले पार्टीलाई थप मजबुद र क्रियाशील बनाएर लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।