काठमाडौं:= पुरुषहरूको सौन्दर्य प्रतियोगिता ‘मिष्टर नेपाल’ आगामी वर्षका लागि आयोजना गरिने भएको छ । एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिताका यस वर्षबाट चिरपरिचित आयोजक नेक्स्ट मोडल्स नेपालले गर्ने भएको हो । आयोजक नेक्स्ट मोडल्सले ‘मिष्टर नेपाल २०२२’ का लागि आवेदन खुला गरेको छ ।
नेक्स्ट मोडल्सले जारी गरेको विज्ञप्तिमा १८ देखि ३२ वर्ष ननाघेका युवाहरूले प्रतियोगिताका लागि आवेदन दिनसक्ने उल्लेख गरिएको छ । प्रतियोगितामा विश्वका जुनै कुनामा रहेका ५ फिट ८ इन्चमाथि उचाइ भएका नेपाली नागरिकले मात्र सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताको अडिसन आगामी माघको दोस्रो सातादेखि सुरु हँुदैछ । यो वर्षबाट आयोजकले विभिन्न जिल्लामा आयोजना हुने स्थानीय सौदर्य प्रतियोगिताका विजेतालाई समेत सहभागीको अवसर प्रदान गर्ने भएको छ ।
‘मिष्टर वल्र्ड’मा नेपालको सहभागिता अझ दर्बिलो बनाउन र प्रतियोगितालाई थप उचाइ दिने उद्देश्यका साथ आफूले ‘मिष्टर नेपाल’मा जोडिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताउनुभयो । देशैभरि छरिएर रहेको प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायत दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी गराइनेछ । युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको हो ।




















