काठमाडौं:= नेकपा (माओवादी केन्द्र)ले पार्टीको वडा सम्मेलन सफलताका साथ सम्पन्न भएको निष्कर्ष निकालेको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पार्टीको वडा अधिवेशन सफलता साथ सम्पन्न भएको निष्कर्ष निकालेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो । कतिपय पालिकामा अधिवेशन स्थगित भए पनि आज÷भोलि नै सबै सकिने र पालिका अधिवेशन पनि उत्साहपूर्वक अगाडि बढेको निष्कर्ष निकालिएको उहाँले बताउनुभयो ।
प्रवक्ता महराले अहिलेसम्म पार्टीको सदस्यता संख्या सात लाख ६ हजार पाँच सय पुगेको र पार्टी सदस्यता संख्या आठ लाख पुग्ने अनुमान गरिएको जानकारी दिनुभयो । बैठकले पार्टीको राष्ट्रिय सम्मेलन निर्धारित मिति पुस ११ देखि १३ गतेसम्म काठमाडौंको प्रज्ञा भवनमा गर्ने पनि निर्णय गरेको छ । त्यस्तै, मंसिर २५ गते प्रदेश सम्मेलन गर्ने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने पनि प्रवक्ता महराले बताउनुभयो ।
माओवादीप्रति जनताको आत्मविश्वास बढ्दै गएको छ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनसहितको समाजवादको यात्रा सुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार विभिन्न पार्टीमा रहेका कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले परिवर्तनसहितको समाजवादको यात्रा सुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताउनुभएको हो । उहाँले माओवादी कमजोर हुँदा संविधान च्यात्ने, गणतन्त्र नै उल्ट्याउने प्रयासमा लागिएको भन्दै माओवादी बलियो भए मात्र देशमा भएका परिवर्तन बच्ने बताउनुभयो ।
अध्यक्ष दाहालले बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन कार्यक्रममा नेकपा मालेका महासचिव सिपी मैनालीले राजा महेन्द्रको प्रशंसा गरेकोप्रति लक्षित गर्दै नाम कम्युनिष्ट भए पनि काम सामन्तीको भएको बताउनुभयो । उहाँले नेपालमा परिवर्तनको रक्षाको लागि मात्रै नभई, राष्ट्र, राष्ट्रिय एकता, उत्पीडित वर्ग र समुदायको हक, अधिकारलाई पूर्णता दिनको लागि माओवादीलाई बलियो बनाउनुको विकल्प नरहेको दाबी गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, ‘परिवर्तनको रक्षा गर्न र परिवर्तनलाई अझ पूर्णता दिनको लागि पनि, जनताको हक अधिकारलाई एउटा पूर्णतामा पुर्याउने, समाजवादको यात्रा सुरु गर्नको निम्ति पनि माओवादी केन्द्र बलियो बनाउनुको विकल्प छैन ।’
उहाँले माओवादी केन्द्रलाई जनताले आफ्नो लागि काम गर्ने पार्टीका रूपमा हेरेको र पार्टीप्रति जनताको आत्मविश्वास बढ्दै गएको बताउनुभयो । अध्यक्ष दाहालले अहिले राष्ट्रका एजेण्डा भनेको माओवादीकै एजेण्डा भएको बताउँदै केही समय काठमाडौं केन्द्रित भएर नेताहरूको काम गर्दा घाइते, अपांग र शहीदहरूप्रतिका एजेण्डा बिर्सिएर गल्ती गरेको भन्दै अब गल्ती नदोहिरिने प्रतिबद्धता गर्नुभयोे ।




















