राप्रपा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु–भोलि मतदान गर्ने तयारी।

काठमाडौं:= राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। राप्रपाको महाधिवेशन एक दिन लम्बिने भएको छ । महाधिवेशन प्रतिनिधिको विवादका कारण निर्वाचन कमिटीले तोकिएको मितिमा चुनाव गराउन नसक्दा महाधिवेशन एक दिन पर सर्ने भएको हो ।

बिहीबार मतदाताको नामावली प्रकाशन गरेको निर्वाचन समितिले शुक्रबार मतदाता नामावलीमाथि दावी विरोध, उम्मेदवारी दर्ता, उनीहरुको नाममाथि दावी विरोध, अन्तिम नामावली प्रकाशनलगायतका काम सकेर शनिबार मतदान गर्ने तयारी गरेको छ ।

भृकुटीमण्डपमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा देशभरका चार हजार बढी प्रतिनिधि छन्।  ती प्रतिनिधि कोही अध्यक्षको उम्मेदवार बन्नुभएको कमल थापा र अर्का उम्मेदवार राजेन्द्र लिङ्देनको पक्षमा खुलेका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये ललितपुरका केही प्रतिनिधि लिङ्देनको पक्षमा खुलेका छन्। काठमाडौंका केही क्षेत्रका प्रतिनिधि भने थापाकै पक्षमा देखिएका छन्।

राप्रपाको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा कमल थापा र राजेन्द्र लिङ्देनले पदाधिकारीमा लड्ने उम्मेदवारको टुंगो लगाउनु भएको छ ।  थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधानको नाम उपाध्यक्षको उम्मेदवारको रुपमा टुंगो लागेको लागेको छ । यस्तै महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार रहनु भएको छ ।

यसैगरी महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाहीको नाम टुंगो लागेको छ ।  यसैगरी लिङ्देन प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठको नाम टुंगो लागेको छ भने महामन्त्रीमा डा.धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाको नाम टुंगो लागेको छ । विक्रम पाण्डेको नाम भने दुबै पक्षले प्यानलमा राखेका छन् ।

पुराना तीन जना नेता एक भएर पार्टीलाई नयाँ दिशा दिने भनी एकता महाधिवेशनमा गएको परिवेशमा पुनः दुई खेमा देखिनुलाई यसका शुभचिन्तक भने निरास छन्। यतिबेला राजनीतिको बागडोर युवापुस्तालाई हस्तान्तरण गर्नुपर्ने आवाज उठिरहेको बेला अध्यक्ष थापालाई चुनौति हुने देखिन्छ । राप्रपामा पुस्तान्तरणको व्याख्या पनि भइरहेको छ ।

तर, अहिलेको अवस्थामा र एजेन्डागत हिसाबले राप्रपालाई हाँक्न सक्ने क्षमता र लिगेसीको हिसाबले कमल थापा नै सक्षम हुनु हो भन्ने एकाथरि कार्यकर्ताको भनाइ छ भने केहीको भावना भने नेतृत्व नयाँ पुस्तामा पुस्तान्तरण गर्न ढिलो भए राप्रपाको एण्जेडा पूरा हुन नसक्ने विचार व्यक्त गर्दै आएका छन् ।

अध्यक्षमा उम्मेदवारी दिन एक लाख रुपैयाँ दस्तुत 

राप्रपाको उम्मेदवार बन्न कम्तीमा १५ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । पार्टीको निर्णयअनुसार केन्द्रीय निर्वाचन समितिले तोकिएको शुल्क लिएर शुक्रबार उम्मेदवारको मनोनयन गर्दै छ । निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार अध्यक्षमा उम्मेदवारी दिन चाहनेले एक लाख रुपैयाँ दस्तुत तिर्नुपर्ने हुन्छ ।

केन्द्रीय उपाध्यक्षका उम्मेदवारले ७५ हजार, महामन्त्रीले ५० हजार र केन्द्रीय सदस्य बन्न चाहनेले १५ हजार रुपैयाँ दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ । महाधिवेशनले १ सय ९४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।