चितवन := नेकपा एमालेका नेता लालबाबु पण्डितले आफू ले भने बमोजिमको कार्यकारी पदाधिकारी पद नपाएको भन्दै केन्द्रीय सदस्य पद पनि अस्वीकार गर्नुभएको छ ।
पदाधिकारीमा दाबीगर्दै आउनुभएका पण्डितलाई केन्द्रीय कमिटी सदस्यहरुको सूचीमा राखिएको थियो । त्यसप्रति असन्तुष्टि जनाउँदै पण्डितले सम्पूर्ण कार्यकारी पदबाट विदालिएको घोषणा गर्नुभएको हो ।
सोमबार सामाजिक सन्जालमा पूर्वमन्त्री पण्डितले लेख्नुभएको छ, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदालिँदै दशौं महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना ।’
कुराकानीको क्रममा नेता पण्डितले अब पार्टीको संगठित सदस्य मात्रभएर बस्ने बताउनुभयो । आफूले केन्द्रीय सदस्यमा पहिले नै उठ्दिन भने पनि अहिले केन्द्रीय सदस्यमा राखेकाले अस्वीकार गरेको बताउनुभयो । ‘केन्द्रीय सदस्यमा उठ्दिनँ भनेकै थिएँ । अब पदाधिकारीमा बागी उठ्दिन । अब म पार्टीको कार्यकारी भूमिकामा नरहेर संगठित सदस्य मात्रै भएर काम गर्छु’ उहाँले भन्नुभयो ।




















