चितवन := नेकपा एमालेको दसौं महाधिवेशन क्रममा चुनाव लड्ने उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।निर्वाचन आयोगले जारी गरेको अन्तिम उम्मेदवार नामावली अनुसार पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान हुँदैछ । त्यस्तै, केन्द्रीय समितितर्फ खुला केन्द्रय सदस्य, प्रदेश १ (भौगोलिक क्षेत्र) खुला, प्रदेश १ महिला, समावेशी क्षेत्रको दलितखुला, थारू खुला, पिछडिएको क्षेत्र र सुदूर प्रदेशको महिलातर्फ निर्वाचन हुनेछ । अरू सबै पदमा सर्वसम्मत भएको छ।
पदाधिकारीतर्फ अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेको छ। त्यस्तै उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा मगर, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङको उम्मेदवारी परेको छ । सचिवतर्फ भने गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंकप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्माकुमारी अर्याल, भीमप्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदवारी परेको छ । एमालेका वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव सर्वसम्मत निर्वाचित भएका छन् । अधिकांश क्लस्टरबाट केन्द्रीय सदस्य निर्विरोध निर्वाचित हुँदा केहीमा मात्रै चुनाव गराइएको हो।
केन्द्रीय समितिमा ८४ जना खुला केन्द्रीय सदस्यका लागि १०० जनाको उम्मेदवारी परेको छ । प्रदेश १ (भौगोलिक क्षेत्र) खुलातर्फ ६ सदस्यका लागि सातजनाले उम्मेदवारी दिएका छन् भने प्रदेश १ महिलामा तीन सदस्यका लागि चारजना भिड्दै छन् । त्यस्तै, समावेशी क्षेत्रको दलित खुलातर्फ आठ सदस्यका लागि नौ जना, थारू खुलामा पाँच सदस्यका लागि ६ जना, पिछडिएको क्षेत्रमा तीन सदस्यका लागि चार जना र सुदूर प्रदेशको महिलातर्फ तीन केन्द्रीय सदस्यका लागि पाँच जनाबीच प्रतिस्पर्धा हुनेछ ।
निर्वाचन आयोगले चुनाव हुने समय पनि पाँच घन्टा सारेको छ । यसअघि सोमबार राति ९ बजे मतदान सुरू हुने भनिएको थियो। तर, राति २ बजेदेखिसुरु भएको मतदान आज बिहान ८ बजेसम्म हुनेछ । यसअघि अध्यक्ष केपीशर्मा ओलीले सर्वसम्मत बनाउने भन्दै ३०१ केन्द्रीय सदस्यसहित १९ जना पदाधिकारीको नाम पेस गर्नुभएको थियो । उहाँले पेस गरेको प्रस्तावमा कतिपय ठाउँमा सर्वसम्मत भएको छ भने कतिपय पदमा चुनाव हुने भएको छ ।
पाँच पदाधिकारी सर्वसम्मत निर्वाचित
नेकपा एमालेको जारी दशौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव लगायतका पदमा सर्वसम्मत भएको छ । विधानमा व्यवस्था भएको सिट संख्या बराबर नै उम्मेदवारी परेपछि ती पदमा सर्वसम्मत निर्वाचित भएको केन्द्री यनिर्वाचन समितिको भनाइ छ । समतिका अनुसार वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव पदमा सर्वसम्मत भएको हो । यस्तै, प्रदेश २, बागमती प्रदेश गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको खुला केन्द्रीय सदस्य र महिला सदस्यमा सर्वसम्मत भएको छ ।
यस्तै, सुदूर पश्चिमको खुला केन्द्रीय सदस्य, उपत्यका विशेषको खुला र महिला एक/एक सदस्य पदमा पनि सर्वसम्मत भएको छ । सम्पर्क समन्वयतर्फ खुला एक र महिला एक पदमा पनि सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ ।यस्तै, समावेशीतर्फ आदिवासी जनजाति खुलातर्फ १७, महिलातर्फ आठ, मधेसी खुलातर्फ १३ र महिलातर्फ ६, दलित महिलातर्फ चार, थारु महिलातर्फ दुई, मुस्लिम खुलातर्फ चार, मुस्लिम महिलातर्फ दुई, श्रमिक खुलातर्फ चार र श्रमिक महिलातर्फ दुई, पिछडिएको क्षेत्र महिलातर्फ एक, खुला महिलातर्फ ५३, केन्द्रीय निर्वाचन आयोगमा २५ (पदाधिकारीसहित), केन्द्रीय लेखा आयोग २५ (पदाधिकारीसहित) सर्वसम्मत भएका छन् ।
प्रतिस्पर्धा गर्दैमा पार्टी एकताकमजोर हुन्न : रावल
नेकपा एमालेका निवर्तमान उपाध्यक्ष तथा दशौं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार भीम रावलले आफ्नो उम्मेदवारी फिर्ता नहुने प्रस्ट पार्नुभएको छ । उहाँले पत्रकारहरुसँग कुरा गर्दै महाधिवेशन भनेकै प्रत्येक प्रतिनिधिको चुन्ने र चुनिने पूर्ण सम्मानको थलो भएकाले आफूले उम्मेदवारी फिर्ता नलिने बताउनुभएको हो । उहाँले केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी दिएको भन्दै पार्टी भित्र एक थरिले आलोचना गरिरहेको सन्दर्भमा सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, ‘लोकतन्त्रमा म प्रत्येक आलोचना, टिप्पणीको सम्मान गर्छु । पार्टीमा साथीहरुले आफ्ना कुरा भन्नुहुन्छ, आलोचना गर्नुहुन्छ । त्यसलाई स्वाभाविक रुपमा लिनुपर्छ ।’
रावलले निर्वाचन हुँदैमा पार्टीमा एकता नहुने भनेर बुझ्न नमिल्ने पनि बताउनुभयो। ‘निर्वाचन हुँदैमा एकता नहुने हो भने त हामीले आम चुनाव लगायत कुनै पनि निर्वाचन गर्नुभएन, त्यो मान्यता नै गलत छ,’ उहाँले भन्नुभयोे, ‘लोकतन्त्रमा एकतामा अनेकता हुने भनेको जब विधि मिचिन्छ, कानुन मिचिन्छ, व्यक्तिहरुका अधिकार मिचिन्छन्, त्यहाँ प्रणाली कमजोर हुन्छन् । त्यति बेलापो एकता कमजोर हुन्छ ।’ स्वच्छ प्रतिस्पर्धा गर्ने अधिकार प्रयोग गर्ने, नियम कानुन मान्ने, विधि मान्ने, नीति मान्ने, राष्ट्रको हितलाई सर्वोपरी मान्ने, कुराले कहिल्यै एकता कमजोर नहुने उहाँको भनाइ छ ।
मैले जित्ने ग्यारेन्टी छ : भुसाल
नेकपा एमालेका नेता घनश्याम भूसालले पार्टीभित्र सिद्धान्त ज्युँदो छ भन्ने कुराको सशक्त हस्तक्षेप जरुरी रहेको भनेर आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनु भएको छ । उहाँले आफूले जित्ने ग्यारेन्टी भएको दाबीसमेत गर्नुभयो । सौरहामा सोमबार बिहान उम्मेदवारी दर्ता गराएपछि पत्रकार सम्मेलन गर्दै भूसालले भन्नुभयो, ‘पार्टीभित्र सिद्धान्त ज्युँदो छ, पार्टीभित्र माक्र्सवाद ज्युँदो छ, विचार ज्युँदो छ भन्ने कुराको सशक्त हस्तक्षेप जरुरी छ भनेर मैले उपाध्यक्षमा उम्मेदवारी दिएको छु ।’ उहाँले अगाडि भन्नुभयो, ‘कहीँ पार्टीले गल्ती गरिहाल्यो भने पार्टीलाई सुधार्ने पनि कार्यकर्ताको लामो परम्परा छ । त्यो परम्परा नै मैले जित्ने कुराको ग्यारेन्टी हो ।’




















