महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई पराजित गर्यो।

काठमाडौं:= संयुक्त अरब इमिरेट्स (युएई)मा जारी आइसिसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई पराजित गरेको छ । जितसँगै नेपाल शीर्षस्थानमा उक्लेको छ । विश्वकप एसिया छनोटअन्तर्गत शुक्रबार भएको आफ्नो चौथो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।

मलेसियाले नेपाललाई जितका लागि ९३ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपालले १८ दशमलव दुई ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो । जितसँगै नेपालले आगमी वर्ष हुने टी-२० विश्वकप ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

नेपालको जितमा सीता रानामगरले सर्वाधिक ३० रनको योगदान दिनुभयो । कप्तान रुविना क्षेत्रीले २०, सरिता रानामगरले १५, कविता कुँवरले १० तथा इन्दु बर्माले चार रन बनाउनुभयो । त्यसअघि दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ९२ रन बनाएको थियो । मलेसियाका लागि एल्सा हन्टरले अविजित ३९ रन बनाउनुभयो । मास इलिएसाले १४ तथा युसरिना याकोपले १२ रनको योगदान दिनुभयो ।

बलिङतर्फ नेपालकी सबनम राईले दुई तथा कविता कुँवर, सीता रानामगर र कप्तान रुबिना क्षेत्रीले एक–एक विकेट लिनुभयो । नेपाल चार खेलमा तीन जित र एक हारका साथ ६ अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई आठ विकेटले पराजित गरेको थियो ।

त्यस्तै नेपालले तेस्रो खेलमा कुवेतलाई नौ विकेटले हराएको थियो । तीन खेल खेलेको युएई शतप्रतिशत नतिजाका साथ ६ अंक जोडेर दोस्रो स्थानमा छ । रनरेट बलियो भएका कारण नेपाल शीर्ष स्थानमा छ । नेपाल अन्तिम खेल आइतबार युएईसँग खेल्नेछ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा आइसिसी टी-२० विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपालसहित ६ राष्ट्रले युएईमा एसिया छनोट खेल्न लागेका हुन् । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएईगरी ६ राष्ट्र सहभागी छन् । सबैले एकअर्कासँग खेलेपछि शीर्षस्थानमा रहने टोलीले ग्लोबल छनोटमा प्रवेश पाउनेछ । महादेशबाट छनोट भई आएकाबीच ग्लोबल छनोटमा प्रतिस्पर्धा हुनेछ । त्यसमा शीर्ष दुई स्थानमा रहने टोलीले दक्षिण अफ्रिकामा हुने टी-२० विश्वकपका लागि छनोट हुनेछन् ।

नेपाली महिला टोलीमा रुबिना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र संगीता राई रहनुभएको छ ।