एमालेको विधानमा व्यापक फेरबदलः दुई उपमहासचिव र दुई उपाध्यक्ष थपिने, ३०१ सदस्यीय केन्द्रीय कमिटी बन्ने
चितवन := पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको पदाधिकारी र सदस्यहरूको संख्या थप्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ । शुक्रबार मध्यरातमा बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीले राखेको प्रस्तावलाई सर्वसम्मतले पारित गरेको हो ।
हाल कायम रहेको केन्द्रीय समितिको अन्तिम बैठकमा ओलीले केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने प्रस्ताव गर्नुभएको थियो। विधान महाधिवेशनले पारित गरेको विधानमा केन्द्रीय सदस्यको संख्या २२५ रहने उल्लेख थियो । त्यस्तै विधान बाट हटाइएको पोलिटब्युरोलाई ब्युँताएर ९९ सदस्यीय बनाउने ओलीले प्रस्ताव गर्नुभएको थियो ।
बैठकमा ओलीले पदाधिकारीको संख्या थप गर्ने प्रस्ताव पनि गर्नुभएको थियो । अध्यक्ष ओलीको प्रस्ताव अनुसार पदाधिकारीको संख्या १५ बाट थपेर १९ पु¥याउने भनिएको छ। यसमा उपाध्यक्ष र उपमहासचिवमा दुई–दुई जना थप्ने भनिएको छ ।
नयाँ प्रस्तावअनुसार उपाध्यक्ष र उपमहासचिवको संख्या सात र तीन पुग्नेछ । नयाँ विधानअनुसार एमालेमा पाँच उपाध्यक्ष र एक उपमहासचिव रहने व्यवस्था थियो । स्थायी समिति भने ४५ सदस्यीय यथावत् राखिएको छ । यता आयोगहरू २५ सदस्यीय र प्रदेश र जिल्लाको आधार संख्या ७५ बनाउने प्रस्ताव गरिएको थियो ।
१० औँ राष्ट्रिय महाधिवेशनलाई सहमतिको महाधिवेशन बनाउने भनेर उद्घोष गरेको नेकपा एमालेलाई नेताहरूको व्यवस्थापनमा भने सकस देखिएको छ । यसपटक प्यानल बनाएर चुनाव लड्ने नदेखिएपनि निर्धारित पदभन्दा पनि बढी आकांक्षी देखिएपछि उनीहरूको व्यवस्थापनमा सकस देखिएको हो ।
सबै पदमा आकांक्षीहरू धेरै देखिएपछि पार्टीमा विधान संशोधनको तयारी गरिएको हो । अब नयाँ पद थप्न एमालेले दशौं महाधिवेशनको बन्दसत्रबाट विधान संशोधन गर्नुपर्नेछ । आज एमालेको बन्द सत्र सुरु हुँदैछ ।




















