आगामी निर्वाचनमा एमालेले देशका लागि बहुमत ल्याउनुपर्छ: केपी ओली।

चितवन:= एमालेको १० औँ महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु भएको छ । नारायणी नदी किनारमा शुक्रबार दिउँसो आयोजित भव्य समारोहबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुभएको हो । एमालेलाई महाधिवेशन सफलताको शुभकामना दिन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोखरेल, राप्रपा अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी चितवन पुग्नुभएको थियो ।

शुक्रबार पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले अब आगामी निर्वाचनमा केन्द्रित हुने बताउनुभयो । समारोहमा ओलीले सर्वसम्मत नयाँ नेतृत्व चयन, आगामी चुनावमा बहुमत र राष्ट्रियताको विषयमा चर्चा गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेले आफ्ना लागि नभई देशका लागि बहुमत ल्याउनुपर्ने बताउनुभयो । उहाँले वर्तमान सरकारलाई लक्षित गर्दै आफूले चुनाव घोषणा गरे पनि अन्य दलहरूले सर्वोच्च अदालतमा हालेको रिट निवेदनमाथि अदालतले परमादेश दिँदै त्यसलाई खारेज गरेको बताउनुभयो । उहाँले परमादेशको बाटो नजाऊँ बरु जनादेशमा जाऊँ भने पनि त्यसलाई रोकिएको बताउनुभयो । ओलीले अर्को पाँच वर्ष देशलाई दिशानिर्देश गर्ने एकताबद्ध पार्टी बनाउने बताउनुभयो । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित समारोहमा ओलीले सरकारको भने धेरै आलोचना गर्नुभएन । बरु ओलीले नामै नलिई सत्ता गठबन्धनका नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले देउवाको खुट्टा समाएको टिप्पणी गर्नुभयो । ‘अहिलेको सरकारको सम्बन्धमा केही भन्न चाहन्नँ । प्रधानमन्त्रीलाई मञ्चमा राखेर सरकारबारे टिप्पणी गर्न चाहन्नँ,’ ओलीले भन्नुभयो, ‘काम गर्न खोज्नुभएको थियो होला सायद, दिएनन् । मेरो खुट्टा तान्नेहरू उहाँको खुट्टा समातिराखेका छन् ।’ अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले गरेका कामको फेहरिस्त सुनाउँदै आगामी निर्वाचनहरूमा एमाले पहिलो पार्टी बन्ने दाबी गर्नुभयो । सम्बोधनका क्रममा उहाँले आफ्नो नेतृत्वको सरकारको पालामा विकासको जग हालेको भन्दै आफ्नै सरकारको पालामा नेपालले अन्तरिक्षमा आफ्नै स्याटलाइट पठाएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब नेपालको उपस्थिति अन्तरिक्षमा हुन्छ, अन्तरिक्ष हाम्रो पनि हो ।’

‘लिम्पियाधुरा, लिपुलेक र कालापानी संवाद गरेर फिर्ता ल्याउनुपर्छ’

महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन संवादका माध्यमबाट फिर्ता लिनुपर्ने बताउनुभयो । उहाँले नेपालले सबै छिमेकी राष्ट्रहरूसँग सहकार्य गरेर, समदूरी कायम राखेर अघि बढ्ने चाहेको बताउनुभयो । ‘लिम्पियाधुरा लिपुलेक र कालापानीको हाम्रो भूगोल हामी नेपालको नक्सामा समेटेका छौँ । त्यसलाई संविधानको अंग बनाएका छौँ । तर, त्यो जमिन हामीले फिर्ता लिनुपर्नेछ,’ उहाँले भन्नुभयो, ‘हामी छिमेकीसँग संवादको माध्यमबाट त्यो जमिन फिर्ता लिनेछौँ । फिर्ता नलिएसम्म हामीलाई दबिएको, हेपिएको भन्ने अनुभूति भइरहन्छ । त्यसैले हामी त्यो जमिन फिर्ता लिएर हामी वास्तविक मित्रता, वास्तविक छिमेकीको सम्बन्ध कायम गर्न चाहन्छौँ । अध्यक्ष ओलीले अब विश्व सहकार्यका साथ अघि बढ्नुपर्ने समय रहेको बताउनुभयो । उहाँले एमालेले कसैलाई पनि शत्रु र मित्रुका रूपमा नलिएर आपसी समझदारी र सहकार्यबाट अघि बढ्न चाहेको बताउनुभयो ।

चुनावभन्दा सर्वसम्मतिमै जोड

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयन सहमतिमा कि चुनावमार्फत ? भन्ने अलमल कायमै छ । नेताहरूले सहमतिका लागि छलफल पनि जारी राखेका छन् । केही समयअघि फरक–फरक समूहमा संघर्ष गरिरहेका नेताहरू समेटिएर बनेको एमाले भावनात्मक रूपमा एकबद्ध भइसकेको छैन । यस्तो अवस्थामा निर्वाचनमा जाँदा सबै समूहको प्रतिनिधित्व हुन नसक्ने आवाज उठ्दै गएको छ । निर्वाचनमा गएमा माओवादी पृष्ठभूमिका नेता र लामो समयसम्म माधव नेपालसँग रहेर ओलीविरुद्ध संघर्ष गरिएका नेताहरूलाई मर्का पर्ने भएकाले सकेसम्म सहमतिमै महाधिवेशन सम्पन्न गर्नुपर्ने कार्यकर्ताको समेत चाहना रहेको छ । अध्यक्ष ओलीले पनि सकेसम्म सहमतिमै नेतृत्व चयन होस् भन्नेमा बढी जोड दिनुभएको छ । पार्टी अध्यक्षमा केपी ओलीको विरुद्धमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी घोषणा गरिसकेको भए पनि उहाँलाई पछि हट्न पार्टीभित्रै दबाब परिरहेको छ । त्यसैगरी, पदाधिकारीमा पनि आकांक्षीको संख्या ठूलो भएकाले सहमतिबाटै नेतृत्व टुंग्याउन हम्मेहम्मे परेको छ । एमालेका युवानेता महेश बस्नेतले विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने र सहमतिका आधारमा सबै विषय टुंग्याउने सम्भावना रहेको बताउनुहुन्छ । उहाँले हिमालय टाइम्ससँग भन्नुभयो, ‘अहिले सबैको मनोविज्ञान बुझ्दा र सबै पृष्ठभूमिका साथीहरूलाई समेट्नका लागि सहमति नै उपयुक्त हुन्छ । तर, आकांक्षीको संख्या अत्यधिक भएकाले विधान संशोधन गरेर पदाधिकारी संख्या थपेर समस्या समाधान गर्ने सम्भावना पनि छ ।’ यता, एमालेका सचिव गोकर्ण विष्ट पनि अध्यक्षलाई निर्विरोध छान्नुपर्ने र पदाधिकारीमा पनि सहमतिबाट टुंग्याउनुपर्ने धारणा राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मुख्य नेतृत्व र पदाधिकारीमा सहमति हुन सक्यो भने देशभरि सहमतिका आधारमा महाधिवेशन सम्पन्न भयो भन्ने सन्देश जान्छ ।’ विगत लामो समयदेखि अध्यक्ष ओलीको निकट रहेर काम गरेका नेताहरू पनि एउटै पदमा आकांक्षी रहेका छन् । जसकारण ओलीले पनि सकेसम्म सहमतिबाट टुंग्याउन दबाब दिइरहनु भएको छ । अहिले पार्टी ठूलो संकटमा रहेको र चौतर्फी हमला भएको भन्दै एकजुट रहेको सन्देश दिन पनि प्रतिस्पर्धाभन्दा सहमति गर्नुपर्नेमा उहाँको जोड छ ।

ठेलमठेल भिडले एम्बुलेन्ससमेत जाममा फसे

एमालेको १०औँ महाधिवेशन उद्घाटन समारोहका लागि नदी किनारमा ५० लाखको लागतमा स्टेज बनाइएको थियो । यस्तै, पाँच लाख मानिस उतार्ने एमालेको दाबी थियो । महाधिवेशन हुने भएपछि केही दिनदेखि नै राजनीतिको केन्द्र बनेको चितवनमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको थियो । महाधिवेशन हेर्न हजारौँको संख्यामा मानिसहरू नारायणी नदी किनारमा पुगेका थिए । यस्तै, नवलपुर पूर्व र चितवन जोड्ने पुल बिहानैदेखि खचाखच थियो । उद्घाटनको समापन बेलासम्म पुलमा सवारीसाधन र मानिसको आवतजावतमा समस्या देखिएको थियो ।

यस्तै, नदी किनारमा मानिसहरूको भिड बढेपछि सुरक्षा चुनौतीका कारण नदी किनारमा सशस्त्र प्रहरी बल तैनाथ गरिएको थियो । कार्यक्रम सकिनै लाग्दा महाधिवेशनमा सहभागी नेता कार्यकर्ताहरू कार्यक्रमस्थलबाट एकैपटक बाहिरिन खोज्दा अत्यधिक भिड बढ्नुका साथै  ठेलमठेल भएको दृश्य देखिन्थ्यो ।

कार्यक्रमस्थलबाट बाहिरिने मानिसहरूको भिडका कारण पूर्व-पश्चिम राजमार्गको नारायणी पुल, पुलचोक आसपासलगायत स्थानमा सवारी जाम भएको थियो । भिडका कारण राजमार्गमा एम्बुलेन्ससमेत रोकिनुपरेको थियो । कार्यक्रमका लागि विभिन्न जिल्लाबाट आएका सवारीसाधन रोकिएको स्थानसम्म पुग्न जाने क्रममा भिड बढेको हो ।

स्थानीय प्रशासनले महाधिवेशनलाई लक्षित गर्दै सहभागीहरू सवार गाडीहरूलाई निश्चित क्षेत्रमा पार्किङको व्यवस्था गरेको थियो । प्रशासनले पश्चिम क्षेत्रबाट आएका सवारीलाई गैँडाकोटतर्फको नारायणी नदी किनारमा, पूर्वबाट आएका सवारीहरूलाई पारस बसपार्क क्षेत्रमा र काठमाडौंबाट आएकालाई आँपटारी क्षेत्रमा पार्किङ अनुमति दिएको थियो ।

ओली र म ‘जेलमेट’ हौँ, हाम्रो जस्तो दुःख अबको पुस्तालाई पर्न दिनुहुन्न : प्रधानमन्त्री देउवा

एमालेको १०औँ महाधिवेशन उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न दलका शीर्ष नेताहरूले शुभकामना दिनुभएको छ । शुभकामना सम्बोधनमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओली र आफू जेलमा समेत सँगै रहेको स्मरण गर्दै हिजो आफूहरूले भोगेको दुःखहरू अरूले नपाउने गरी काम गर्नुपर्ने बताउनुभयो ।

दलहरूले मिलेर संविधान जारी गरेजस्तै यसको सफल कार्यान्वयनमा पनि एक हुनुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘केपी ओलीजीलगायत धेरै वामपन्थी साथीहरू र हामीसँगै जेलमा थियौँ । हामी जेलमेट पनि हौँ । हामीले सँगै दुःख भोगेका हौँ । हिजोका दिनमा हामीले भोगेका दुःख सम्झेर भोलिका दिनमा कुनै नेपालीले दुःख नपाऊन् भन्नेमा हामी केन्द्रित हुनुपर्छ ।’

उहाँले दलहरूबीच सद्भाव, छलफल र संविधानमार्फत हरेक समस्याको समाधान निकाल्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमालेले सरकारका विविध विधानअनुसार थिति बसाल्ने काममा साथ दिनुपर्ने पनि उहाँले बताउनुभयो ।

प्रधानमन्त्री देउवाले कोभिड–१९ ले आक्रान्त भएको बेला सबै जनतालाई कोरोनाविरुद्धको खोप पु¥याउनु आफ्नो पहिलो लक्ष्य भएको र त्यसैअनुसार लक्ष्य हासिल गरिरहेको बताउनुभयो ।

उहाँले सबैको सहयोगबाट संसद्भित्र प्रतिनिधित्व गर्ने र संसद्बाहिरका राजनीतिक दलहरूसँग सहकार्य गरी देश र जनतालाई केन्द्रमा राखेर साझा धारणाका आधारमा देशलाई अघि बढाउने कुरामा प्रतिबद्ध रहेको समेत बताउनुभयो ।

ओलीको दुई काम जनताले सम्झिनेछन् : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीलाई दुई कामले मात्रै जनताले सम्झिने बताउनुभएको छ । उद्घाटन सत्रमा बोल्दै अध्यक्ष थापाले सिके राउत र नेत्रविक्रम चन्दलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु र भारतले अतिक्रमण गरेको भूमिसमेत समेटेर नेपालको नक्सा जारी गर्ने काम जनताले सम्झिने बताउनुभयो ।

मधेशमा देखिएको पृथकतावादी आन्दोलन र विप्लव माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु नै ओली नेतृत्वको सरकारको अविस्मरणीय काम भएको उहाँको भनाइ थियो । अध्यक्ष थापाले ओली नेतृत्वको सरकारले लिम्पियाधुरालाई समेत समेटेर चुच्चे नक्सा बनाई त्यसलाई संविधानमा समेट्दै नेपाल र नेपाली जनतालाई अविस्मरणीय गुण लगाएको पनि बताउनुभयो ।

अध्यक्ष थापाले भन्नुभयो, ‘दुईवटा प्रमुख कामका निम्ति केपी ओली र यो देशले सम्झिराख्नेछ, पहिलो काम मधेशमा देखिएको पृथकतावादी आन्दोलन र विप्लव माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु हो, दोस्रो सबैभन्दा लिम्पियाधुरासमेत समेटेर चुच्चे नक्सा बनाएर त्यसलाई संविधानमा समेटेर नेपाल र नेपाली जनतालाई अविष्मरणीय गुण लगाउनुभएको छ ।’

पार्टीभित्रको आन्तरिक कलह र विवादका कारणले जनतालाई दिएको आश्वासनअनुसार काम गर्न नसकेका कारण उहाँले केपी ओली नेतृत्वको पछिल्लो सरकारबाट आफू त्यति सन्तुष्ट नभएको बताउनुभयो ।

अध्यक्ष थापाले अहिले देश संकटको भूमरिमा परेकोसमेत बताउनुभयो । उहाँले लोकतन्त्रको आवरणमा देश विस्तारै सर्वसत्तावादतर्फ उन्मुख भएको बताउनुभयो । अध्यक्ष थापाले योजनाबद्ध र संगठित रूपमा गरिँदै आएको धर्म परिवर्तनले नेपालीहरूको सनातन, धार्मिक, सांस्कृतिक पहिचानलाई समाप्त पार्ने प्रयास भइरहेको आरोपसमेत लगाउनुभयो ।

अध्यक्ष थापाले नेकपा एमालेले देशमा साहसिक निर्णय गरेर देश जोगाउनेमा आफू विश्वस्त रहेको समेत बताउनुभयो । उहाँले देशलाई संकटबाट बचाउन नेकपा एमालेका अध्यक्ष ओलीको आवश्यक रहेको बताउनुभयो ।

नेताहरूको संकीर्णताले एकता टुट्यो : पोखरेल

नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले नेताहरूको संकीर्ण सोचका कारण कम्युनिष्ट एकता टुटेको बताउनुभएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिनिधिका रूपमा महाधिवेशनमा सहभागी हुनुभएका पोखरेलले नेताहरूको संकीर्ण सोच, केही फरक मान्यता र परिवेशले माओवादी केन्द्र र एमाले अलग हुन पुगेको बताउनुभएको हो ।

तत्कालीन अवस्थमा फरक मान्यता र परिवेशले माओवादी र एमाले अलग हुन पुगेको उल्लेख गर्नुहुँदै उहाँले राजनीतिक दलहरूको एकताले मुलुकमा निरंकुश राजतन्त्र अन्त्य भएको बताउनुभयो ।  एउटै दलले मुलुकको विकास र समृद्धि गर्नै नसक्ने भन्दै एकता, सहकार्यको नीतिले समाजवादी क्रान्तिले मुलुकको अवस्था परिवर्तन गर्ने उहाँको भनाइ थियो । उहाँले कम्युनिष्ट पार्टीको एकता आवश्यक रहेको पनि जिकिर गर्नुभयो।

एक-अर्कालाई खुइल्याउन बन्द गरौँ, मिलेर जानुको विकल्प छैन : केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलका नेताहरूले एक–अर्कालाई खुइल्याउँदै हिँड्ने काम बन्द गर्न आग्रह गर्दै सबै मिलेर जानुको विकल्प नभएको बताउनुभएको छ । अहिलेसम्म प्राप्त भएको उपलब्धि रक्षा गर्ने बेला भएकाले दलहरूको मिल्नुको विकल्प नभएको उहाँले बताउनुभयो ।

दलहरू मिलेर गणतन्त्रलगायत परिवर्तन ल्याए पनि अहिलेको दुरावस्थाका लागि एकले अर्कालाई दोषारोपण गरिरहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘हामी अहिलेको दुरावस्थाका लागि आफैँ जिम्मेवार हौँ भन्न सक्नुपर्छ । यदि हामीले देशको राष्ट्रियता र अखण्डलाई अगाडि राखेर राजनीति गरेनौँ भने बाह्य शक्तिले घोक्रेठ्याक लगाउनेछन् ।’

उपेन्द्र यादव र महन्थ ठाकुरले दिए शुभकामना

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमालेको १०औँ महाधिवेशनको सफलताको शुभकामना दिनुभएको छ । जसपा अध्यक्ष ठाकुरले देश र जनताका लागि पनि एमालेको महाधिवेशन ऐतिहासिक रहोस् भन्दै शुभकामना दिनुभएको थियो ।

राजनीतिक दल देश र जनताप्रति प्रतिबद्ध रहेका भन्दै उहाँले एमालेको आगामी नेतृत्वले देश र जनताको पक्षमा काम गरेर गरेर अगाडि बढ्न सकोस् भन्दै शुभकामना दिनुभएको थियो । यस्तै, लोसपा अध्यक्ष महन्थ ठाकुरले आफूहरूको माग पूरा गर्ने प्रयास गरेकोमा एमाले अध्यक्ष ओलीलाई धन्यवाद दिनुभएको थियो ।

तराई मधेश र मधेसी जनताको माग पूरा गर्ने विषयमा तत्कालीन प्रधानमन्त्री ओलीले प्रयास गरेको भन्दै धन्यवाद दिँदै उहाँले प्रधानमन्त्री देउवाले अब मधेश र मधेशी जनताको माग पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।