काठमाडौं:= आइसिसी महिला टी-२० विश्वकप एसिया क्रिकेट छनोटमा नेपालले दोस्रो जित हात पारेको छ । दुबईको आइसिसी एकेडेमी ग्राउन्डमा बिहीबार भएको खेलमा नेपालले कुवेतमाथि नौ विकेटको सानदार जित हात पार्यो । तेस्रो खेलमा नेपालको यो दोस्रो जित हो ।
जितसँगै नेपालको ग्लोबल छनोट हुने सम्भावना कायमै छ । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई आठ विकेटले हराएको थियो । नेपालले अब आज (शुक्रबार) मलेसिया र आइतबार युएईसँग खेल्नेछ । शीर्ष स्थानमा रहने टोली ग्लोबल छनोटमा पुग्ने भएकाले बाँकी खेलमा नेपालले जित हात पार्नुपर्ने आवश्यकता छ ।
नेपाल तीन खेलमा दुईमा जित र एकमा हारसहित चार अंकका साथ शीर्ष स्थानमा छ । युएई दुई खेलमा चार अंकका साथ नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । मलेसिया, हङकङ र भुटान समान दुई अंकका साथ तेस्रो, चौथो र पाँचौँ स्थानमा छन्।
कुवेतले दिएको २८ रनको झिनो लक्ष्य नेपालले ३.३ ओभरमा एक विकेट गुमाएर भेट्टाएको थियो । नेपालको जितमा इन्दु बर्माले १३, कप्तान रुविना क्षेत्रीले १२ रन जोड्दै जित दिलाउनुभयो । कुवेतका लागि मारिया जस्वीले एक विकेट हात पार्नुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले १५.४ ओभरमा सबै विकेट गुमाएर २७ रनमात्रै जोड्न सकेको थियो । कुवेतका लागि प्रियादा मुरालीले १० रनबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । नेपालकी संगीता राई र कप्तान रुविना क्षेत्रीले समान तीन/तीन विकेट हात पार्नुभयो । करुणा भण्डारी र सरस्वतीकुमारी चौधरीले एक/एक विकेट लिनुभयो ।
सन् २०२३ मा दक्षिण अफ्रिकामा आइसिसी टी-२० विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपालसहित ६ राष्ट्रले युएईमा एसिया छनोट खेल्न लागेका हुन् । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरी ६ राष्ट्र सहभागी छन् ।
सबैले एकअर्कासँग खेलेपछि शीर्ष स्थानमा रहने टोलीले ग्लोबल छनोटमा प्रवेश पाउनेछ । महादेशबाट छनोट भई आएकाबीच ग्लोबल छनोटमा प्रतिस्पर्धा हुनेछ । त्यसमा शीर्ष दुई स्थानमा रहने टोली दक्षिण अफ्रिकामा हुने टी-२० विश्वकपका लागि छनोट हुनेछन् ।
नेपाली महिला टोलीमा रुविना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र संगीता राई रहनुभएको छ ।




















