प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको नारायणी नदी तटमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले मध्याह्न १२ बजे गर्ने कार्यक्रम छ।
एमाले विभाजन पश्चात पहिलो पटक महाधिवेशन हुन लागेको हो । महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले उद्घाटन कार्यक्रमका लागि देशभरबाट उपस्थित हुने पाँच लाखभन्दा बढी सहभागी हुने बताए।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालगायत सात पार्टीका प्रमुख नेता सहभागी हुने छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा, राजमोबाट चित्रबहादुर केसी र नेमकिपाका नेतासमेत सहभागी हुनेछन्।
महाधिवेशनका लागि भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत १५ देशका अतिथि र अन्य २५ देशबाट शुभकामना सन्देश प्राप्त भएको छ । १२ मंसिरसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । बन्दसत्र सौराहामा हुनेछ।
महाधिवेशनमा दुई हजार एक सय ७५ प्रतिनिधि र एक सय २९ पर्यवेक्षक सहभागी हुनेछन् । प्रतिनिधिमध्ये ६ सय २७ जना महिला र दुई सय नौजना दलित–उत्पीडित समूहबाट प्रतिनिधित्व हुनेछन्।




















