माघ १२ गते राष्ट्रियसभा निर्वाचन।

काठमाडौं:= सरकारले आगामी माघ १२ गते राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले आगामी माघ १२ गते राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

फागुन २० मा राष्ट्रियसभामा २० सदस्यको पदावधि सकिँदैछ । पदावधि सकिनुअघि नै ती पदमा चुनाव गरिसक्नुपर्ने हुन्छ । २० सदस्यमध्ये एकजना राष्ट्रपतिबाट मनोनीत हुनेछन् भने १९ पदका लागि माघ १२ मा निर्वाचन हुने भएको हो । राष्ट्रियसभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै उक्त पदका लागि निर्वाचन गर्ने व्यवस्था छ । सत्तारूढ गठबन्धनले राष्ट्रियसभाको निर्वाचनमा तालमेल गरेर जाने तयारी गरेका छन् ।

यस्तै, प्रवक्ता कार्कीले एसियन-अफ्रिकन लिगल कन्सलटेटिभ अर्गनाइजेसनको ५९औं वार्षिकसभामा कानुनमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डल भाग लिने बताउनुभयो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सभामा कानुन, न्याय तथा संघीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू नेतृत्वको प्रतिनिधिमण्डललाई पठाउने प्रस्ताव स्वीकृत गरेको प्रवक्ता कार्कीले बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकले सरकारले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको पक्ष राष्ट्रहरूको इजिप्टमा हुने नवौँ सम्मेलनमा भाग लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई पढाउने प्रस्ताव पनि स्वीकृत गरेको छ । त्यसैगरी, नायव महालेखा परीक्षकमा बाबुराम सुवेदी, सहमहालेखा नियन्त्रकमा उमाकान्त आचार्य र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाको पार्षदमा बैकुण्ठबहादुर अधिकारीलाई मनोनयन गर्ने निर्णय पनि गरिएको प्रवक्ता कार्कीले बताउनुभयो।

बैठकले एशियाली विकास बैंकबाट प्राप्त हुने थप सहुलियतपूर्ण ऋण सहायता अमेरिकी डलर ६० मिलियन स्वीकार गर्ने, नेपाल स्वास्थ्य सेवाको अधिकृत १२औँ तहमा डा. श्यामसुन्दर यादव, भीमसिंह तिंकरी र डा. गुणराज लोहनीलाई बढुवा गर्ने निर्णय पनि गरेको प्रवक्ता कार्कीले जानकारी गराउनुभयो । बैठकले पशु कल्याण विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको छ ।