मोटी युवतीहरूको लागी ‘सुपर प्लस साइज मोडल नेपाल २०२२’ हुने।

काठमाडौं := शारीरिकरूपमा मोटी युवतीहरूलाई लक्षित गरी आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगिता ‘सुपर प्लस साइज मोडल नेपाल’ को चौथो संस्करण ‘सुपर प्लस साइज मोडल नेपाल २०२२’ हुने भएको छ । आयोजक मोडल संग्स नेपालले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताका लागि आवेदन खुला गरिएको जानकारी दिएको हो ।

प्रतियोगितामा १६ देखि ४० वर्षसम्मका विवाहित तथा अविवाहित दुवै समूहका युवती महिलाहरूले भाग लिन पाउने जनाइएको छ । प्रतियोगितामा सहभागिताका लागि ५५ केजीभन्दा माथिको तौल भई स्पष्टरूपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान आयोजकले राखेको छ ।

आयोजक संस्थाका प्रमुख डेविल सिंह राजपुतले मोटोपनाका कारण हीनताबोध भएका युवतीहरूलाई प्रोत्साहन गर्ने तथा उनीहरूको क्षमतालाई अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभएको छ । यही मंसिर २५ गते मोडल संग्स नेपालको केन्द्रीय कार्यालय बागबजारमा हुने अडिसनबाट छनोटमा परेका प्रतियोगीलाई मात्र अन्तिम स्पर्धाका लागि प्रशिक्षण दिइनेछ । छानिएका प्रतियोगीलाई फेसन कोरियोग्राफर रोजिन शाक्यले कोरियोग्राफी गर्नुहुने बताइएको छ ।

आयोजक संस्थाका सरोज ओझाले प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धामा एकमहिने प्रशिक्षणका क्रममा र्‍याम्प, व्यक्तित्व विकास, सञ्चार कला, फोटोसेसन, स्टेज पफर्मेन्स, पब्लिक स्पिकिङलगायत विविध विषयमा दक्ष व्यक्तित्वहरूले प्रशिक्षण दिने बताउनुभयो ।

प्रतियोगिताका विजेताले नगद पुरस्कारसँगै दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन र मोडलिङ क्षेत्रमा अवसर पाउने आयोजकले जनाएको छ । उत्कृष्ट तीन प्रतियोगीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न फेसन सो तथा सौन्दर्य प्रतियोगिताहरूमा समावेश हुन पाउने आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।