आज माओवादी केन्द्रले देशभर वडा सम्मेलन गर्दै।

काठमाडौं:= नेकपा(माओवादी केन्द्र)ले आज (शनिबार) देशभर नै वडा सम्मेलन गर्ने भएको छ । वडा सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

माओवादीले वडा समितिको चयन गर्दा सकेसम्म सर्वसहमतिमा गर्न भनेको छ । निर्वाचन हुने अवस्था आएको खण्डमा मर्यादित तरिकाले पार्टीको आन्तरिक लोकतन्त्रका रुपमा बुझेर सोहीअनुसारको भूमिका निर्वाह गर्न सबै पार्टी पंक्तितलाई आग्रह गरेको छ ।

वडा सम्मेलनका क्रममा जारी गरिएको विज्ञप्तिमा भनिएको छ- ‘पार्टीको वडा सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद्ध भएर सर्वहारा वर्गप्रति निष्ठावान, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्नसक्ने नयाँ एवं रुपान्तरित पार्टी निर्माणमा लाग्न आम जनसमुदायमा हार्दिक अपिल गर्दछ ।’

माओवादीले यही मंसिर ११ गते सबै पालिकामा र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन गर्दैछ । आगामी पुस ११, १२ र १३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ ।