काठमाडौं:= अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माण सहजीकरण कानुनमा ठूला योजनालाई सरल र रोकावटबिना सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । मन्त्रालयमा भएको विकास निर्माण सहजीकरण कानुनसम्बन्धी छलफलमा उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री शर्माले झन्झटिलो कानुन र विभिन्न किसिमका रोकावटले ठूला आयोजना रोकिँदै आएकाले अब त्यस्तो व्यवस्था हटाउनुपर्ने बताउनुभयोे । उहाँले भन्नुभयो, ‘अख्तियार, कानुन तथा अदालतलगायतले ठूला आयोजनाहरू नरोकिऊन्, सरल र रोकावटबिना ठूला योजना सञ्चालन हुने नीति बनाउनुपर्छ ।’
आर्थिक जीवनमा परिवर्तन ल्याउने योजना छनोट गरी तिनलाई कसैले रोक्न नसक्ने किसिमको कानुन तर्जुमा गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । राजनीतिक प्रकृति र राजनीतिक आवश्यकताका आधारमा योजनालाई छुट्याउनुपर्नेमा जोड दिँदै उहाँले कतिपय राजनीतिक प्रकृतिका योजनाका कारण खर्च हुन नसकेकाले आवश्यकताका आधारमा योजनाको छनोट गर्नुपर्ने बताउनुभयो।
कानुन निर्माताहरूले विगतमा राम्रोसँग अध्ययन नगरी कानुन निर्माण गर्दा अहिले समस्या आएको उहाँले बताउनुभयो । त्यस्तै हरेक टेबल–टेबलमा आफ्नै किसिमको मनमौजीले विकास निर्माणका कार्यहरू रोकिने गरेको भन्दै त्यस्तो मानसिकता त्याग्नुपर्ने पनि मन्त्री शर्माले बताउनुभएको अर्थ मन्त्रालयले जनाएको छ । बैठकमा मुख्य सचिव शंकरदास वैरागी, अर्थसचिव मधुकुमार मरासिनी तथा विभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधिको सहभागिता रहेको बताइएको छ ।




















