काठमाडौं:= नेपाली महिला क्रिकेट टिमले कतारविरुद्धको तीन खेलको अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेट सिरिज क्लिन स्विप गरेको छ । दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा बिहीबार भएको तेस्रो खेलमा कतारलाई १०९ रनले पराजित गर्दै नेपालले सिरिज क्लिन स्विप गरेको हो ।
आफ्नो पहिलो अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमै नेपालले सफलता हात पारेको हो। यसअघि नेपालले कतारलाई पहिलो खेलमा ११९ र दोस्रो खेलमा ६१ रनले पराजित गरेको थियो । बिहीबारको खेलमा नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा कतारले निर्धारित ओभरमा सात विकेट गुमाएर ५५ रन मात्र बनाउन सक्यो ।
कतारका लागि अलिना खानले सर्वाधिक १९ र कप्तान अयेशाले १३ रनको योगदान गर्नुभयो । नेपालका लागि कप्तान रुविना क्षेत्री, सरस्वती कुमारी चौधरी, र सवनम राईले समान एक/एक विकेट लिनुभयो । यसअघि नेपालले ब्याटिङ गर्दै नेपालले २० ओभरमा तीन विकेट गुमाएर १६४ रन बनाएको थियो ।
नेपालका लागि सीता राना मगरले अविजित रहदै ८२ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । सीताको यो पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय अर्धशतक हो । कतारकी एन्जेलिन मारे, साची ढाटवाल र आयशले एक/एक विकेट लिनुभयो ।




















