माओवादीबाट आएका नेताहरूको व्यवस्थापनमा चुनौती
[ चिन्तन क्षेत्री ]
काठमाडौं := नेकपा एमालेका नेताहरू अहिले पार्टीको १०औँ महाधिवेशनका लागि तीव्र तयारीमा जुटेका छन् । मंसिर १० देखि १२ गतेसम्म तय भएको महाधिवेशनका लागि प्रतिनिधि चयनको काम सकिएको छ । चितवनमा हुने महाधिवेशनबाट केपी शर्मा ओली नै फेरि अध्यक्षमा दोहोरिने लगभग पक्का भएपछि अन्य पदका लागि नेताहरू लबिङमा जुटिरहेका छन् ।
माधवकुमार नेपाल र झलनाथ खनाललगायत नेताहरूले एमाले विभाजन गरी नयाँ पार्टीमा लागेपछि अध्यक्षमा ओली नर्विकल्प देखिनुभएको हो । यद्यपि, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाललगायत नेताहरूले पनि अध्यक्षमा दाबी गरिराख्नुभएको छ । तर, एमालेको ठूलो हिस्साले ओलीलाई सर्वसम्मत अध्यक्षका रूपमा अघि सारिरहेकाले ओलीबाहेक अन्यको सम्भावना देखिन्न ।
१०औँ महाधिवेशनले एमालेलाई सर्वसम्मत रूपमा ओलीलाई अध्यक्ष दिए पनि अन्य पदमा भने नेताहरूको भिडन्त रोचक हुने देखिएको छ । नेपालले पार्टी विभाजन गर्दा फर्केर आएका १० भाइ र तत्कालीन समयमा ओलीलाई साथ दिएका पूर्व-माओवादीका नेताहरूको व्यवस्थापन पनि चुनौतीपूर्ण देखिएको छ ।
वरिष्ठ उपाध्यक्षका दाबेदार धेरै, सम्भावना पोखरेलको
अध्यक्षको दाबी गरिरहनुभएका भीम रावलले वरिष्ठ उपाध्यक्षमा आफूलाई सुरक्षित गर्न बार्गेनिङ गरिरहेको चर्चा एमालेवृतमा चलेको छ । तर, ओलीको आशीर्वाद रावलले पाउने सम्भावना निकै कम रहेको छ । यद्यपि, अध्यक्षमा नभए वरिष्ठ उपाध्यक्षमा उहाले दाबी गर्ने सम्भावना रहेको छ । ईश्वर पोखरेलले अहिले अध्यक्षका लागि दाबी गर्ने सम्भावना कम रहेको छ ।
केही समयअघिसम्म आफूलाई अध्यक्षको दाबेदार बताउनुहुने पोखरेल ओलीलाई चुनौती दिनसक्ने आँट देखाउन सक्नुहुन्न । त्यसैले पनि उहा“को वरिष्ठ उपाध्यक्षमा स्वाभाविक दाबी रहने नेताहरू बताउ“छन् । तर, सुवास नेम्वाङ पनि ओलीपछिका उत्तराधिकारी हुन चाहनुहुन्छ । ओलीले चाहेमा नेम्वाङ नै पनि वरिष्ठ उपाध्यक्ष बन्न सक्ने सम्भावना छ ।
महासचिवका दाबेदार ओलीका विश्वासपात्र
एमाले अध्यक्षमा सर्वसम्मत हुने र उपाध्यक्षमा पोखरेल र नेम्वाङको सम्भावना जीवित हुँदा महासचिवका लागि भने तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । अहिले उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल र सुरेन्द्र पाण्डेले महासचिवका लागि दाबी गर्ने देखिएको छ । पौडेल र पोखरेल ओलीका सबैभन्दा नजिकका विश्वासपात्र हुनुहुन्छ ।
ओलीले पाण्डेभन्दा यी दुईमध्ये एकजनालाई महासचिवका लागि प्रस्ताव गर्न सक्ने सम्भावना रहेको छ। विगतदेखि ओली पक्षका पौडेल र पोखरेल दुवैले महासचिवका लागि लबिङ गरिरहनुभएको छ । ओलीले पौडेललाई महासचिव रोजेको खण्डमा पोखरेल पनि विश्वासपात्र भएकाले उपाध्यक्षमा व्यवस्थापन गर्ने सम्भावना देखिन्छ ।
उपाध्यक्षमा कडा प्रतिस्पर्धा
एमालेमा माओवादीबाट आएका नेता र १० बुँदे सहमति गरी एमालेमा फर्किएका नेताहरूको व्यवस्थापन कठिन देखिएका बेला महाधिवेशनबाट उपाध्यक्ष पदका लागि धेरै आकांक्षी रहेका छन् । जम्मा चार उपाध्यक्ष रहेको एमालेमा माओवादीबाट आएका, १० बुँदे सहमति गरी आएका र अन्य नेताहरूको व्यवस्थापन ठूलो चुनौती देखिएको हो ।
वरिष्ठ उपाध्यक्ष र महासचिव छाडेको खण्डमा सुवास नेम्वाङलाई उपाध्यक्ष बनाउनैपर्ने दबाबमा रहनुभएका ओलीलाई अष्टलक्ष्मी शाक्य र भीम रावललाई उपाध्यक्षमा व्यवस्थापन गर्नुपर्ने देखिएको छ । एमालेका एक नेता भन्नुहुन्छ, ‘रावलले अध्यक्षको दाबी वरिष्ठ उपाध्यक्षका लागि गरिरहनुभएको हो ।
तर,उहाँको सम्भावना त्यहाँ पनि छैन । यता, उपाध्यक्षमा मिलाउनका लागि ओलीलाई समस्या हुने देखिन्छ । महिला भएकाले पनि शाक्यको सम्भावना अझ बढी हुन्छ ।’ रावल र शाक्य दुवै १० बुँदे सहमतिपछि एमालेमा फर्किएका नेता हुन् ।
त्यस्तै, माओवादीबाट आएका रामबहादुर थापा ‘बादल’ उपाध्यक्ष हुन सक्ने सम्भावना रहेको स्रोत बताउ“छ । संकटका समयमा आफूलाई साथ दिएकाले ओलीले बादललाई उचित स्थानमा व्यवस्थापन गर्ने सम्भावना रहेको हो ।
नवौँ महाधिवेशनबाट उपाध्यक्ष भएका युवराज ज्ञवालीले उपाध्यक्षमा दाबी गरे पनि सम्भावना भने कम छ । उहाँलाई ओलीले अनुशासन आयोगमा व्यवस्थापन गर्ने तयारी गर्नुभएको बुझिएको छ । उपाध्यक्षका लागि पृथ्वीसुब्बा गुरुङले पनि दाबी गर्ने सम्भावना देखिएको छ ।
सात सचिवमा युवाहरूको पल्लाभारी
एमालेले पार्टीमा सात सचिवको व्यवस्था गरेको छ । सचिवमा अहिले युवा नेताहरूको दाबी बढी हुने देखिन्छ । प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्यलगायत नेताहरू सचिवमा दोहोरिन चाहन्छन् । तर, भागबण्डामा समस्या देखिए केही नेताहरूको जिम्मेवारी तलमाथि हुन सक्ने सम्भावना पनि रहेको छ ।
आकांक्षी धेरै भएमा ओलीले ज्ञवालीलाई उपमहासचिव बनाउने सम्भावना रहेको नेताहरू बताउँछन् । उपमहासचिव नपाए ज्ञवालीले पनि सचिवमै चित्त बुझाउनुपर्ने छ । शेरबहादुर तामाङ पनि सचिवका बलिया दाबेदार हुनुहुन्छ ।
माओवादीबाट आउनुभएका टोपबहादुर रायमाझी र लेखराज भट्टलाई पनि सचिवमा आटाउनैपर्ने बाध्यता ओलीलाई रहेको छ। पृथ्वीसुब्बाको सम्भावना उपाध्यक्ष नभए सचिव नै रहनुपर्ने बाध्यात्मक अवस्था छ । पदाधिकारी समावेशी बनाउनुपर्ने भएकाले रघुवीर महासेठ, किरण गुरुङलगायतलाई पनि सचिवमा अघि सार्न सक्नुहुन्छ ।
४५ सदस्यीय स्थायी कमिटीका लागि थुप्रैको अकांक्षा छ । सचिवमा नपरेकाहरू स्थायी कमिटीमा अटाउन सक्छन् । पदाधिकारीमा सर्वसम्मत भए पनि स्थायी कमिटी र केन्द्रीय सदस्यका लागि चुनाव हुन सक्छ । २२५ केन्द्रीय सदस्यका लागि पाँच सयभन्दा बढीले दाबी गरिरहेका छन् ।
अध्यक्ष सर्वसम्मत भए पनि अन्य पदमा आकांक्षीहरू धेरै भएकाले कडा प्रतिस्पर्धा हुने देखिएको छ । तर, निर्वाचन नै भए पनि ओलीको आशीर्वाद पाएका नेताहरूले मात्रै जित्ने सम्भावना रहेको एमाले नेताहरू बताउँछन् ।




















