५८० वर्षपछि आज लाग्दै सबैभन्दा लामो चन्द्रग्रहण।

काठमाडौं:= ५८० वर्षपछि सबैभन्दा लामो आंशिक चन्द्रग्रहण आज लाग्दै छ । यो शताब्दीकै सबैभन्दा लामो आंशिक चन्द्रग्रहण आज देखिन लागेको हो । योपटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । जो दिउँसो करिब साढे १ बजे उच्च बिन्दुमा पुग्नेछ । यो चन्द्रग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेन्ड लामो हुनेछ । ५८० वर्षयता यति लामो अवधिको चन्द्रग्रहण लागेको थिएन ।

यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको थियो । अब यति लामो चन्द्रग्रहण ८ फेब्रुअरी २६६९ मा मा मात्र लाग्नेछ ।

यो चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्रलगायतबाट देखिनेछ । चन्द्रग्रहण दिउँसो १ बजेर ३ मिनेटदेखि साँझ ४ बजेर ३२ मिनेटसम्म रहनेछ । खगोलविद्को दाबीअनुसार पृथ्वीबाट चन्द्रमाको अधिक दूरी भएका कारण चन्द्रग्रहणको अवधि लामो भएको हो ।

चन्द्रग्रहण पूर्ण देखिनेभन्दा एक हल्का रेखाको रूपमा देखिन सक्छ । आंशिक चन्द्रग्रहण भएकाले यसको सुतक काल पनि मान्य नहुने धार्मिक मान्यता छ ।

पृथ्वीले सूर्यलाई घुम्ने गति र चन्द्रमाले पृथ्वीलाई घुम्ने गति समान छैन । यही असमानता नै ग्रहण हुने कारण मानिन्छ । गतिको असमानताले गर्दा समयको संयोगले कुनै बखत यी पिण्डहरू एउटै सिधा रेखामा पर्छन् । फलस्वरूप कहिले पृथ्वीको छाया चन्द्रमामा र कहिले चन्द्रमाको छाया पृथ्वीमा पर्छ । यसरी छाया परेको अवस्था नै ग्रहणको अवस्था हो । पृथ्वीको छाया चन्द्रमामा पर्दा चन्द्रग्रहण र चन्द्रमाको छाया पृथ्वीमा पर्दा सूर्यग्रहणको स्थिति सिर्जना हुन्छ ।

पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आइपुग्छ, तब सूर्यको प्रकाशलाई पृथ्वीले छेकिदिन्छ । यस्तो अवस्थामा चन्द्रमामा पृथ्वीको छाया देखिन्छ । छायाको यस्तो अवस्था नै चन्द्रग्रहण हो । चन्द्रमाको पूरै भाग छायाले छोपेको अवस्थालाई खग्रास चन्द्रग्रहण र आधा वा केही भाग मात्र ढाकेको अवस्थालाई खण्डग्रास चन्द्रग्रहण भनिन्छ ।