पर्यटन प्रवद्र्धनका लागि भोजपुरमा खुल्यो रिसोर्ट।

भोजपुर:= आन्तरिक तथा बाहृय पर्यटन प्रवद्र्धनका लागि प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुर नगरपालिकाको वडा नम्बर १० भैंसीपंखामा रिसोर्ट सञ्चालनमा आएको छ । यो जिल्लामा नै पहिलोपटक खुलेको रिसोर्ट हो ।

‘सदरमुकाम नजिकै भएकाले फुर्सदको समयमा रिसोर्टमा पुगेर साथीभाइसँग रमाइलो गर्दा छुट्टै आनन्द हुन्छ,’ स्थानीय वसन्त खडकाले भन्नुभयो, ‘हिले भोजपुर नारदमणि थुलुङ सहायक राजमार्गअन्तर्गत सडककै नजिकमा रिसोर्ट सञ्चालनमा ल्याइएकाले त्यहाँ नपुग्ने प्रायः कमै छन् ।’

सरकारले सूचीकृत गरेको एक सय नयाँ पर्यटकीय गन्तव्यअन्तर्गत मुन्दुम पदमार्गको प्रवद्र्धनलाई टेवा दिँदै भोजपुरमा व्यवस्थित रिसोर्टको अपरिहार्यता महसुस गरेर भोजपुरवासी, आन्तरिक तथा बाहृय पर्यटकलाई स्थानीय सत्कार र स्वाद पस्किने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याएको सञ्चालक भिम राईले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘स्थानीय स्रोतसाधनकै प्रयोग र आफ्नै लगानीमा पदमार्गको प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले रिसोर्ट खोलेका छौँ ।’ ‘करिब ९५ लाखको लगानीमा रिसोर्ट सञ्चालनमा ल्याइएको छ, रिसोर्ट खुलेसँगै आन्तरिक पर्यटकको पनि चहलपहल बढेको छ,’ सञ्चालक राई भन्नुहुन्छ।

जिल्लाका दुईजना युवा मिलेर निजी लगानीमा गाउँमै रिसोर्ट खुलेको छ । गाउँमै बसेर पर्यटन प्रवद्र्धनलाई टेवा पु¥याउने भन्दै भोजपुर नगरपालिका १०, भैंसीपंखाका भिम राई र प्रदिप राईले ‘होङकु रिसोर्ट’ सञ्चालनमा ल्याउनुभएको छ । भोजपुर सदरमुकामदेखि करिब पाँच किलोमिटरपूर्वमा अवस्थित रिसोर्टबाटै मुन्दुम पदमार्गको जिरोप्वाइन्ट सुरु भएको छ ।

मुन्दुम पदमार्गको लामो यात्राबाट फर्किएका पर्यटकलाई लक्षित गरेर उक्त रिसोर्ट सञ्चालनमा ल्याइएको हो । पदमार्गको प्रचारप्रसार र पर्यटन प्रवद्र्धनसँगै अर्गानिक स्वाद र सत्कार दिने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याइएको अर्का सञ्चालक प्रदिप राईले भन्नुभयो, ‘हामीले हाम्रै गाउँठाउँको स्वाद पस्केका छौँ ।’

पर्यटकीय प्रमुख पदमार्ग सुरुवात हुने संगमस्थलमै सञ्चालनमा ल्याइएको रिसोर्टमा अर्गानिक मिष्ठान्न परिकार र मिठो अतिथि सत्कारको आकर्षणले पछिल्लो समय आन्तरिक पर्यटकको मन लोभ्याउने गरेको छ ।