मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यमलाई कारबाही हुन्छ: अध्यक्ष हुमागाईं।

काठमाडौं:= विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बोर्डको सूचनालाई अटेर गरी मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यमहरूलाई कारबाही गरिने बताउनुभएको छ । अध्यक्ष हुमागाईंले सूचना प्रकाशित गरिसकेपछि पनि केही सञ्चारमाध्यमहरूमा मदिराजन्य पदार्थहरूको विज्ञापन प्रकाशन भइरहेको भन्दै विज्ञापन प्रशारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापनदातालाई कानुनबमोजिम कारबाही गरिने बताउनुभएको हो ।

उहाँले बोर्ड अहिले विज्ञापन प्रशारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापन दाताहरूलाई पत्राचार गर्ने तयारीमा रहेकोसमेत बताउनुभयो । अध्यक्ष हुमागाईंले ऐनले मदिरा तथा सुर्तीजन्य पदार्थको विज्ञापनमा मात्रै रोक लगाएको बताउँदै बिक्री वितरण र उत्पादनमा रोक नलगाएको बताउनुभयो ।

यता, राष्ट्रिय टेलिभिजन प्रशारक संघले पनि सार्वजनिक सञ्चारमाध्यम र पत्रपत्रिकामा मदिराजन्य वस्तुको विज्ञापन प्रकाशन गरेकोमा विरोध गरेको छ । राष्ट्रिय टेलिभिजन प्रशारक संघका अध्यक्ष शंकर अधिकारीले सार्वजनिक सञ्चारमाध्यम र पत्रपत्रिकामा वर्जित विज्ञापन प्रकाशन रोक्ने काममा विज्ञापन बोर्ड विमुख हुन नमिल्ने बताउनुभयो ।

उहाँले निजी क्षेत्रले सरकारले निकालेको सूचनालाई थ्रेट दिएर, अटेर गरेर मदिराको विज्ञापन निकाल्दा प्रशासन, राज्य र विज्ञापन बोर्डले केही गर्न नसकेको आरोप लगाउनुभयो । अध्यक्ष अधिकारीले कानुनले वर्जित गरेका काम गर्नेहरूलाई कानुनबमोजिम कारबाही गर्न माग गर्नुभयो ।

अध्यक्ष अधिकारीले विज्ञापन बोर्डले निकालेको विज्ञप्तिअनुसार निर्वाह गर्नुपर्ने दायित्व पूरा गर्न नसकेको बताउनुभयो । उहाँले कानुनमा भएको कुरालाई हुबहु लागू गराउनुपर्ने दायित्व र जिम्मेवारीमा बसेकाहरूले बढी चासो दिनुपर्ने बताउँदै भएको कानुनलाई लागू गराउनुपर्ने बताउनुभयो ।