महिला टि-२० आई क्रिकेट खेलमा नेपाललाई ऐतिहासिक सफलता।

काठमाडौं:= नेपाली महिला क्रिकेट टोलीले कतारसँगको तीन डब्लु टी-२० आई सिरिजमा ऐतिहासिक सफलता हात पारेको छ । नेपाली महिला क्रिकेट टोलीले कतारलाई ६१ रनले पराजित गरेको हो । यो जितसँगै नेपालले अन्तर्राष्ट्रिय महिला क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको छ । कतारस्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट मैदानमा बुधबार अपराहृन पौने चार बजे नेपाल घरेलु टिमविरुद्ध मैदान उत्रिएको थियो । नेपालले खेलेको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट शृंखला नै आफ्नो पक्षमा पारेको हो ।

नेपालले दिएको १३० रनको लक्ष्य पछ्याउनेक्रममा कतारले निर्धारित ओभरको तीन बल बाँकी छँदा आफ्ना सबै विकेट गुमाउँदै ६८ रनमात्र जोड्यो । कतारका लागि कप्तान अयेशाले सर्वाधिक २४ रन जोड्दा केरी पोनसेटले १५ रन जोड्नुभयो । नेपालका लागि सरस्वतीकुमारी चौधरीले सर्वाधिक चार विकेट हात पार्नुभएको थियो ।

कप्तान रुविना क्षेत्रीले दुई विकेट हात पार्दा संगीता राई र सवनम राईले समान एक/एक विकेट लिनुभयो । यसअघि नेपालले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनायो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले ५० रनको अर्ध शतकीय इनिङ्स खेल्नुभयो । रुविनाले ४८ बलमा ५० रन पूरा गर्नुभएको थियो । रुविनाले चार चौका र एक छक्का प्रहार गर्नुभयो । रुविनाको यो पहिलो टी-२० अन्तर्राष्ट्रिय अर्धशतक हो ।

यस्तै कविता कुँवरले ३१ रन जोड्दा ज्योति पाण्डेले ६ रन जोड्नुभयो । सरिता मगर चार, काजल श्रेष्ठ तीन तथा डली भट्ट शून्य रनमा आउट हुनुभएको थियो । अप्सरी बेगम २३ रनमा अविजित रहँदा कविता जोशी शून्य रनमा अविजित रहनुभयो । कतारकी एन्जेलिन मारेले दुई विकेट लिनुभयो । एलिना खान, साची ढाटवाल र सविजाले एक/एक विकेट लिनुभएको थियो ।

पहिलो खेलमा नेपालले कतारलाई ११९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले अन्तिम खेल बिहीबार खेल्नेछ । नेपालले आइसिसी वुमन्स टी-२० एसिया छनोटअघि तयारीका लागि कतारसँग तीन टी-२० आई सिरिज खेलेको हो । शुक्रबार महिला टोली युएईतर्फ लाग्नेछ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी-२० विश्वकपका लागि नेपालसहित ६ राष्ट्रले अर्को वर्ष हुने ग्लोबल छनोटका लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन् । एसिया छनोटमा नेपाल, भुटान, हङकङ, कुबेत, मलेसिया र युएई गरी ६ राष्ट्र सहभागी छन् । विजेता टोलीले आगामी वर्ष हुने टी-२० ग्लोबल छनोट खेल्न पाउनेछन् ।