दाङ:= नेपाली कांग्रेसमा १४औँ महाधिवेशनको सरगर्मी बढेको छ । कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत यही मंसिर ३ गते प्रदेशसभा निर्वाचन क्षेत्र र ६ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र र मंसिर १० गते जिल्ला अधिवेशनको तयारी गरेको छ । वडा र गाउँ/नगरको अधिवेशन गरिसकेको कांग्रेसले अब लगत्तै प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्लामा अधिवेशन गर्न लागेको हो ।
अधिवेशनको मिति नजिकिँदै जाँदा चुनावी गतिविधि तीव्र बनेको छ । प्रदेशसभा र प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारीस्वरूप नेताहरू गाउँ तथा सहरमा चुनावी अभियानलाई तीव्रता दिएका छन् । पदमा धेरै आकांक्षी हुँदा कांग्रेसमा सहमतिमा नेतृत्व छनोट गर्ने सम्भावना शून्यजस्तै देखिएको छ । एउटै पदका लागि धेरै नेताहरू अधिवेशनमा होमिँदा चुनावी प्रतिस्पर्धा हुने निश्चित छ ।
चुनावबाटै नेतृृत्व छनोटको तयारीमा जुटेको कांग्रेस नेताहरू चुनावी मत परिणाम आफ्नो पक्षमा पार्न घरदैलो अभियानमा लागेका छन् । घरदैलो अभियानमा लागेका नेताहरू कतिपयले धेरै रकम खर्च गरेर तडकभडक नै गरेका छन् । कतिपय नेताले भने सामान्य खर्चमा नै प्रचारप्रसार गरिरहेका छन् ।
दाङको प्रदेशसभा ३ नम्बर क्षेत्रको ‘ख’ मा सभापति पदका लागि उम्मेदवारी दिनुभएका टीका घर्तीले भने सामान्य खर्चमा प्रचारप्रसार गरिरहेको दाबी गर्नुभएको छ । चुनाव खर्चिलो बन्दै गएको अवस्थामा खर्च व्यवस्थापन गर्नका लागि अटोमार्फत प्रचारप्रसारमा जुटेको उहाँले बताउनुभयो । ‘खर्च जतिसक्यो कम गर्ने कोसिस छ’ उहाँले भन्नुभयो, ‘चुनाव खर्चिलो बन्दै जाँदा न्यून आएका भएका नेता ओझेलमा पर्ने स्थिति छ ।’ कम खर्चमै चुनाव सम्पन्न गर्ने योजनाका साथ घरदैलो अभियानलाई तीव्र बनाएको उहाँले बताउनुभयो ।
तर, अधिकांश नेताहरू प्रदेश तथा प्रतिनिधिसभाको नयाँ नेतृत्वका खर्च तडकभडक रूपमा गरेका छन् । चुनाव जित्नका लागि आर्थिक अवस्था बलियो हुने नेतृत्व पंक्तिको हाबी हुँदा आर्थिक कम हुने नेतृत्व ओझेलमा पर्ने स्थिति देखिएको छ । यसअघि वडा, गाउँ तथा नगरको अधिवेशनमा पनि लाखौँको रकम खर्चिएका कांग्रेस नेताहरू यसपटक पनि प्रदेश र प्रतिनिधिसभाको अधिवेशनमा लाखौँ खर्च हुने देखिन्छ ।
चुनाव खर्चिलो बन्दै जाँदा खर्च व्यवस्थापन गर्न निकै समस्या पर्ने गरेको प्रदेशसभा ३ को ‘क’ को सभापतिका उम्मेदवार बलिराम खत्रीले बताउनुभयो । ‘चुनावमा हुने खर्च जतिसक्यो कम गर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘खर्चिलो र भड्किलो बन्दै जाँदा राम्राभन्दा पनि आर्थिक रूपमा सक्षम हुने उम्मेदवार विजयी हुने निश्चित छ ।’
पार्टीभित्रकै नेतृत्व पाउनका लागि रकमको होडबाजी चल्दा आर्थिक रूपमा कमजोर तर बौद्धिक जमात ओझेलमा पर्ने निश्चित देखिएको कांग्रेसकै नेताहरू बताउँछन् । प्रतिनिधिसभा ३ नम्बर क्षेत्रमा सचिव पदमा उम्मेदवार शोभाकर सापकोटाले पार्टीभित्रै नेतृत्वका लागि चुनावको नाममा लाखौँ रकम खर्चनु पार्टीका लागि घातक रहेको बताउनुभयो ।
‘आर्थिक लगानी सो गर्ने प्रचलनले पार्टीलाई बलियोभन्दा पनि झन् कमजोर बनाउँछ’ उहाँले भन्नुभयोे, ‘खर्चको तडकभडकले बौद्धिक व्यक्ति ओझेलमा पर्छ ।’ उहाँले नेतृत्वमा आउँदा गर्ने लगानी पार्टीकै कार्यालयका लागि भवन निर्माणमा खर्च गर्नसके पार्टीलाई सहज हुने बताउनुभयो । ‘नेपाली कांग्रेस दाङमा जिल्लाको भवन मात्रै छ, अरूको भवन नहुँदा भेला, बैठक गर्न समस्या छ ।’ उहाँले भन्नुभयो, ‘भवन निर्माण, कार्यालय व्यवस्थापनमा आर्थिक लगानी गर्नतर्फ हामी सबैको ध्यान जान आवश्यक छ ।’
पार्टीभित्र केही वर्ग लाखौँ खर्चेर भए पनि नेतृत्व हातपार्ने भन्ने उद्देश्यमा लागेकाले पनि पछिल्लो समयका अधिवेशन झन् खर्चिलो बनेको जिल्ला सभापति कीर्तिबहादुर खड्काले बताउनुभयो । ‘अबको नयाँ नेतृत्वमा आउनका लागि खर्चलाई कम गर्नतर्फ सबैको ध्यान पुग्न आवश्यक छ’ उहाँले भन्नुभयो, ‘आर्थिक परिचालन गरेर नेतृत्वमा आउँदा अरू आर्थिक रूपमा कमजोर हुने जमात ओझेलमा पर्छ ।’ चुनावमा सकेसम्म कम खर्चने प्रवृत्तिको विकास हुन जरुरी रहेको उहाँले बताउनुभयो ।
दाङ २ मा भिड्न तयार भए दुई समूह
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नम्बर २ मा दुई समुह भिड्ने भएका छन् । क्षेत्र नम्बर २ को प्रतिनितिसभा क्षेत्र र प्रदेशसभा क्षेत्रमा दुई यी दुई समुहले आ आफ्नो उम्मेदवारको प्यानल तयार पारेका छन् । शनिबार एक समूहले उम्मेदवारी घोषणा गर्यो भने अर्को समूहले आइतबार उम्मेदवारी घोषणा गरेको छ । क्षेत्रीय अधिवेशनअन्तर्गत प्रदेश क्षेत्रको ३ मंसिरमा र प्रतिनिधिसभाअन्तर्गतको क्षेत्रको अधिवेशन ६ मंसिरमा हुँदैछ ।
आइतबार घोषणा गरेको समूहले कांग्रेस क्षेत्र नम्बर २ को सभापतिमा चित्रबहादुर डाँगी ‘निर्मल’लाई उम्मेदवार तय गरेको छ । यसैगरी सचिवमा आरके शीतल र सन्तोष योगी उम्मेदवार तय हुनुभएको छ भने सहसचिवमा शिव घिमिरे र प्रमोद पोख्रेलले उम्मेदवारी घोषणा गर्नुभएको छ । यसैगरी प्रदेशसभाअन्तर्गत २ (क) मा दुर्गा जिएमलाई सभापतिको उम्मेदवार तय गरिएको छ ।
यस्तै, उपसभापतिमा बलबहादुर ओलीले उम्मेदवारी घोषणा गर्नुभएको छ । अर्का एक उपसभापति भने चाँडै तय हुने बताइएको छ । यसैगरी, सचिवमा माया पोख्रेल र प्रकाश पाण्डे, तथा सहसचिवमा माधव चौधरी र विकास जिसीले उम्मेदवारी घोषणा गर्नुभएको छ । यस्तै, क्षेत्र नम्बर २ ख को सभापतिको उम्मेदवार अभियान बस्नेत तय हुनुभएको छ । यस्तै, उपसभापतिमा गोविन्द दाहाल र विष्णुकुमार देवकोटाले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
यस्तै, सचिवमा नोखिराम केसी र शिवराज बस्नेत तथा सहसचिवमा लौटन चौधरी र जयभोला परियारले उम्मेदवारी घोषणा गर्नुभएको छ । यसैगरी, शनिबार अर्को समूहले भीमप्रकाश खड्काको नेतृत्वमा क्षेत्रीय चुनावमा जाने गरी उम्मेदवार सार्वजनिक गरेको छ । क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा भीमप्रकाश खड्कालाई उम्मेदवार बनाएको यो समूहले सचिवमा कमल गौतम र हिमबहादुर डाँगीलाई उम्मेदवार बनाएको छ ।
यसैगरी, सहसचिवमा रमेश पाण्डे र रञ्जित श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ । यसैगरी, २ ‘क’ को सभापतिमा प्रकाश श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभयो भने उपसभापतिमा पदम खत्री र तिलक भण्डारी, सचिवमा शिशिर अधिकारी र युवराज आचार्य तथा सहसचिवमा विष्णु पोख्रेल र भुवन चौधरीले शनिबार उम्मेदवारी घोषणा गर्नुभएको छ ।
यस्तै, २ ख मा लालबहादुर गिरी सभापतिको उम्मेदवार बन्नुभएको छ । उपसभापतिमा ज्ञानबहादुर खत्री र शरद विक, सचिवमा तिलक केसी र डिल्लीबहादुर ओली तथा सहसचिवमा निर्मला न्यौपाने र युद्धबहादुर डाँगीले उम्मेदवारी घोषणा गर्नुभएको छ । दुई समूह बनाएर चुनावी मैदानमा होमिएका सबै उम्मेदवारहरू अहिले मत माग्नका लागि प्रचारप्रसारमा खटिएका छन् ।




















