कतारविरुद्ध नेपालको शानदार जित, इन्दुको अर्धशतक।

काठमाडौं:= टी-२० सिरिजको पहिलो म्याचमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतारविरुद्ध ११९ रनको शानदार विजय हासिल गरेको छ । मंगलबार कतारको दोहास्थित वेष्ट इण्ड पार्क स्टेडियममा भएको खेलमा नेपालले कतारलाई ११९ रनले हराएको हो । जितसँगै नेपालले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको कतार ११ ओभर ५५ बलमा अलआउट हुँदै २७ रनमा समेटिएको थियो । कतारका लागि खादिजा इम्तियाज र एन्जेलिन मारेले आठ/आठ रन जोड्नुभयो । केरी पाउनसेटले सात तथा रिज्फा बानोले तीन रन बनाउनुभयो । कतारका पाँच खेलाडी शून्य रनमा आउट हुनुभयो ।

कतारलाई सस्तैमा समेट्न नेपालकी कप्तान रुबिना क्षेत्रीले तीन विकेट लिनुभएको थियो । कविता कुँवर र सीता राना मगरले दुई/दुई तथा करुणा भण्डारीले एक विकेट लिइन् । यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा चार विकेट गुमाएर १४६ रन बनाएको थियो । महिला टोलीको यो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा कीर्तिमानी योगफल हो । नेपालका लागि इन्दु वर्माले अर्धशतकीय इनिङ्स खेल्नुभएको थियो । इन्दु ४७ बलमा ५५ रन बनाएर रिटायर्ड हर्ट भइन् ।

टी–ट्वान्टी अन्तर्राष्ट्रियमा इन्दुको यो पहिलो अर्धशतक हो । टी-ट्वान्टी अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने उहाँ पहिलो नेपाली महिला खेलाडीसमेत बन्नुभयो । यस्तै, सीता राना मगरले ३९ रन जोड्नुभयो । सरिता मगर २१ रनमा आउट हुँदा काजल श्रेष्ठले तीन रन जोड्नुभयो । कप्तान रुविना क्षेत्री शून्य रनमा आउट हुनुभयो । कविता कुँवर आठ रनमा अविजित रहँदा अप्सरी बेगम शून्य रनमा अविजित रहनुभयो ।

कतारकी सबिजा पानायन र एन्जेलिन मारेले एक/एक विकेट लिनुभयो । आइसिसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारीस्वरूप नेपालले कतारसँग तीन खेलको टी-ट्वान्टी सिरिज खेलिरहेको हो । विश्वकप छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ । छनोटका लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा टिम घोषणा गरिसकेको छ । नेपाली टिम कतारबाटै नोभेम्बर १९ मा दुबई प्रस्थान गर्नेछन् ।