काठमाडौं:= बरिष्ठ लोक गायिका चन्द्रकला शाह पुरस्कृत हुनुभएको छ । उहाँलाई मंगलबार काठमाडौंमा एक समारोहबीच वरिष्ठ संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति शम्भुजीत बास्कोटालगायतले ५१ हजार रुपैयाँ नगदसहित कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार-२०७८’बाट पुरस्कृत गर्नुभएको हो ।
पछिल्लो समय अमेरिकामा बस्दै आउनु भएका वरिष्ठ संगीतकार तथा गायक कन्हैया सिंह परियारले आफ्नो ५०औं जन्म दिनको अवसर फजुल खर्च नगरी सो पैसाबाट कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार–२०७८ स्थापना गर्नुभएको थियो । उहाँ काठमाडौं आएको बेला सो पुरस्कार मंगलबार काठमाडौंमा वरिष्ठ गायिका शाहलाई प्रदान गरिएको हो ।
सो पुरस्कार प्रदान गरेपछि समारोहलाई सम्बोधन गर्दै वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले नेपाली लोकसंगीत सिर्जना र भाका संकलनमा चन्द्रकला शाहको अतुलनीय योगदान रहेको बताउनुभयो । टीका गोपाल डिजिटल एम क्रियसनले आयोजना गरेको सो कार्यक्रममा बोल्दै सरकारले दिएको पुरस्कारभन्दा निजी क्षेत्रबाट प्राप्त यति ठूलो राशिको पुरस्कार आफ्नो लागि अझ महत्वपूर्ण भएको गायिका चन्द्रकला शाहले बताउनुभयो ।
यस्तै संगीतकार सन्तोष श्रेष्ठ र गायक भीमार्जुन आचार्य, गीतकार माधवराज खरेललगायतले गायिका चन्द्रकला शाहले नेपाली लोकसंगीत क्षेत्रमा साँढे चार दशकदेखि पुर्याएको योगदानको सो क्रममा चर्चा गर्नुभयो ।




















