काठमाडौं:= सत्तारूढ गठबन्धनले आगामी निर्वाचनसम्म नै सहकार्य गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार अपरान्ह बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा आगामी निर्वाचनसम्म नै गठबन्धनलाई निरन्तरता दिने सहमति जुटेको हो । पाँच दलीय गठबन्धनको बैठकले राष्ट्रियसभाको निर्वाचन र उपनिर्वाचनसम्मलाई गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताउनुभयो ।
नेपाली कांग्रेसका केही नेताहरूले निर्वाचनमा कुनै पनि दलहरूसँग सहकार्य नहुने बताइरहँदा गठबन्धनको निर्णयलाई महŒवका साथ हेरिएको छ । कांग्रेसका केही नेताहरूले कांग्रेस निर्वाचनमा एक्लै लड्ने बताइरहेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत गठबन्धनमा रहेका दलहरूलाई एक्लाएक्लै चुनाव लडेर देखाउन चुनौती दिँदै आएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार मात्रै एक सार्वजनिक कार्यक्रममा आफ्नो प्रतिस्पर्धा कांग्रेससँग मात्रै रहेको र अन्य दलहरू एक्लै निर्वाचनमा जान नसक्ने बताउनुभएको थियो । गठबन्धनमा सहमति जुटेसँगै आगामी राष्ट्रियसभा निर्वाचनमा साझा उम्मेदवार तय हुनेछ । राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुनमा सकिँदैछ, उनीहरूमध्ये १९ जना निर्वाचनमार्फत चयन हुनेछन् । उक्त चुनावको मिति भने तय हुन बाँकी छ ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि निर्वाचनमा मिलेर जाने सहमति भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तत्काल यो समितिले राष्ट्रियसभा रिक्त सदस्य निर्वाचन, प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनमा मिलेर जानेबारे गृहकार्य गर्नेछ । अनि सरकारलाई समग्र हिसाबले सहयोग गर्नेछ ।’
यस्तै, गठबन्धनले सरकारका काम कारबाहीहरूलाई प्रभावकारी बनाउन राजनीतिक संयन्त्र गठन गरेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहनेगरी ११ सदस्य रहेको संयन्त्र गठन गरिएको हो ।
संयन्त्रमा सत्ता गठबन्धनमा रहेका पाँचवटा पार्टीका दुई÷दुई जना सदस्य रहने नेकपा माओवादी केन्द्रका नेता श्रेष्ठले बताउनुभयो । संयन्त्रमा मन्त्रिपरिषद्बाट सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि कार्यदलका सदस्य रहनुभएको छ । यस्तै, प्रधानमन्त्री देउवाको पनि संयन्त्रको बैठकमा सहभागिता भने रहने सहमति जुटाइएको छ ।
पौडेलले दुई महिना संयन्त्रको नेतृत्व गर्नुहुनेछ । त्यसपछि आलोपालोमा गठबन्धनमा आबद्ध पार्टीले त्यसको नेतृत्व गर्नेछन् । संयन्त्रमा नेपाली कांग्रेसको तर्फबाट पौडेल र कृष्ण सिटौला, माओवादीको तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) को तर्फबाट माधव नेपाल र नाम दिन बाँकी एकजना, जसपाको तर्फबाट उपेन्द्र यादव र नाम दिन बाँकी एकजना, राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र अर्को एकजना सदस्य रहनेछन् ।
संयन्त्रलाई सरकारका काम कारबाहीमा समन्वय गर्ने, गठबन्धनबीच अन्तरविरोध भए निवारण गर्ने, राष्ट्रियसभा र उपनिर्वाचनको तालमेलबारे सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ ।




















