बागमती प्रदेशका नयाँ मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत प्राप्त।

हेटौँडा:= बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गर्नुभएको छ । सोमबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी छलफलपश्चात् उहाँले मतदान प्रक्रियाबाट मत प्राप्त गर्नुभएको हो ।

छलफलपश्चात् सभामुख सानुकुमार श्रेष्ठले पक्ष र विपक्षमा मतदान प्रक्रिया अघि बढाउनुभएको थियो । सोहीअनुरूप मुख्यमन्त्री पाण्डेले विश्वास पक्षमा ५९ मत प्राप्त गर्नुभयो भने विपक्षमा भने ४३ मत रहेको थियो । नेमकिपा भने तटस्थ बसेको थियो ।

मतदान प्रक्रियापछि मत सच्याउन सभामुखले तीन मिनेट समय दिनुभएको थियो । प्रदेशसभामा १०९ जना सदस्यमध्ये सोमबार मतदान प्रक्रियामा भने १०४ जना सदस्यले सहभागिता जनाउनुभएको थियो । बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।

स्पष्ट बहुमत नरही नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार पाण्डेले विश्वासको मत लिनुभएको हो । उहाँ गठबन्धनका दल नेपाली कांगेस, माओवादी केन्द्र, र जनता समाजवादी पार्टी नेपालको समर्थनमा ११ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।

हाल मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिमण्डल छ । मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएसँगै अब मन्त्रिपरिषद् विस्तार हुनेछ । संसद्मा एमालेको ४३, माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई-दुई तथा जसपाको एक सिट छ । यसअघिकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बहुमत नपाएर पद गुमाएपछि पाण्डे मुख्यमन्त्री बन्नुभएको थियो ।

अबको सरकारले जनताको चाहनाअनुरूप काम गर्छ : पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले अबको सरकारले फजुल खर्चलाई घटाएर जनताको चाहनाअनुरूपको काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सोमबार प्रदेशसभाको बैठकमा विश्वासको मत मागेपछि अन्य राजनीतिक दलका नेताहरूले उठाएको प्रश्नको उत्तर दिँदै मुख्यमन्त्री पाण्डेले अबको सरकारले फजुल खर्चलाई घटाएर जनताको चाहनाअनुरूपको काम गर्ने बताउनुभएको हो ।

उहाँले अबको तीन महिनाभित्र प्रदेश सरकारले श्वेतपत्र जारी गरी विगतको सरकारको कामहरू जनतालाई जानकारी गराउने पनि बताउनुभयो । मुख्यमन्त्री पाण्डेले प्रदेशको आम्दानी बढाउने, खर्च घटाउने, निर्वाचन क्षेत्रहरूमा विनियोजन गर्ने विकास बजेटहरूमा विगत वर्षदेखि हुँदै आएको असन्तुलनलाई सन्तुलन गर्ने, स्वास्थ्य क्षेत्रमा रकम विनियोजन गर्र्ने विषयलाई महŒव दिने, केन्द्र सरकारले आवश्यक कर्मचारी उपलब्ध नगराएमा आन्तरिक स्रोतबाट करारमा कर्मचारी भर्ना गरेर भए पनि समयमै योजना सम्पन्न गर्ने नीति लिने, योजनाको लागि विनियोजित बजेट खर्च गर्न नसकिने आजको जो स्थिति छ, समाधान गर्न हाल भएका कानुनलाई आवश्यक परे संशोधन गर्ने, सरकारद्वारा विनियोजित बजेटको समयमै खर्च गर्ने, सबै काम सम्पन्न गर्ने, क्यालेण्डर बनाएर काम गर्ने, तोकेको समयमै सम्पन्न गर्ने कर्मचारीलाई उचित पुरस्कारको बन्दोबस्त गर्ने पनि जानकारी दिनुभयो ।

उहाँले प्रदेश सरकार सञ्चालन ऐन बनाएर काम अघि बढाउने, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र उद्योगहरूलाई प्राथमिकता दिएर प्रदेशको हैसियत, इज्जत, प्रगतिलाई माथि उठाउने गरी सञ्चालन गर्ने पनि बताउनुभयो । मुख्यमन्त्री पाण्डेले सर्वहारा, श्रमजीवि, किसान, मजदुर, श्रम गरेर खाने वर्गले न्याय पाएको महशुस हुनेगरी सरकार सञ्चालन गर्ने बताउँदै समाजवाद उन्मुख कार्यक्रम तयार गरी दलित, एकल महिला, लोपोन्मुख जातिको उत्थान जीवनयापनका कार्यक्रम सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।