वेस्ट हृयामसँग ३-२ गोल अन्तरले हार्‍यो लिभरपुल।

लण्डन:= इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा वेस्ट हृयाम युनाइटेडले घरेलु मैदानमा लिभरपुललाई ३-२ गोलअन्तरले पराजित गरेको छ । यो लिभरपुलको यस सिजनको पहिलो हारसमेत हो ।

खेलको चौथो मिनेटमा नै गोलरक्षक एलिसन बेकरको आत्मघाती गोलमा वेस्ट हृयामले अग्रता लिएको थियो । पहिलो हाफकै ४१औं मिनेटमा ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले फ्रिकिकमा सुन्दर गोल गर्दै लिभरपुललाई खेलमा फर्काउनुभयो ।

खेलको ६७औं मिनेटमा फोर्नाल्सले पुनः वेस्ट हृयामलाई अग्रता दिलाउनुभयो । त्यसको ७ मिनेटपछि बोवेनको कर्नरमा कर्ट जौमाले हेडरमा गोल गर्दै वेस्ट हृयामको अग्रता दोब्बर पार्नुभयो । ८३औं मिनेटमा डिभोक ओरिगीले गोल गरे पनि खेलमा थप गोल हुन नसक्दा लिभरपुल स्तब्ध बन्यो ।

यस जितसँगै वेस्ट हृयाम लिभरपुललाई उछिन्दै अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । वेस्ट हृयामले ११ खेलमा सात जित, दुई बराबर र दुई हारसहित २३ अंक जोडेको छ । लिभरपुलले २२ अंक जोड्नेक्रममा ६ जित, चार बराबरी र एक हारको नतिजा निकालेको छ । शीर्षस्थानको चेल्सीको २६ अंक छ ।

यता इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबार राति भएको इन्टर मिलान र एसी मिलानबीचको खेल १–१ को बराबरीमा सकिएको छ । खेलको ११औं मिनेटमा हाकान चाल्हानोग्लुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई अग्रता दिलाउनुभएको थियो । तर, १७औं मिनेटमा स्टेफान डी भ्रिजको आत्मघाती गोलमा मिलान खेलमा फर्कियो । तर, त्यसपछि खेलमा थप गोल भएनन् ।

यस नतिजाले एसी मिलान अंकतालिकाको शीर्षस्थानमा पुग्न सकेन । एसी मिलानको १२ खेलमा ३२ अंक छ । तेस्रो स्थानमा रहेको इन्टरको १२ खेलमा २५ अंक छ । शीर्षस्थानको नेपोली ३२ अंकसहित गोल अन्तरका आधारमा एसी मिलानभन्दा अघि छ । युभेन्टस् १२ खेलमा १८ अंक जोड्दै आठौं स्थानमा छ ।