स्पेनिस ला लिगा : रियल सोसिडाड लयमा फर्किदै।

म्याड्रिड:= रियल सोसिडाडले स्पेनिस ला लिगामा जितको लय जारी राखेको छ । आइतबार राति भएको खेलमा सोसिडाडले ओसासुनालाई उसैको मैदानमा २-० गोलले हरायो । सोसिडाडको जितमा माइकल मेरिनो र एडनान जानुजाजले गोल गर्नुभयो ।

दुवै गोल दोस्रो हाफमा गरेको सोसिडाडले ७२औं मिनेटमा खाता खोलेको थियो । मेरिनोले पोर्टुको पासमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाउनुभयो । १० मिनेटपछि जानुजाजले पेनाल्टीमा गोल गर्दै सोसिडाडको अग्रता दोब्बर बनाउनुभयो । डी बक्सभित्र ओसासुनाका उनइ गार्सियाले फल खेलेपछि सोसिडाडले पेनाल्टीको अवसर पाएको थियो ।

५७ प्रतिशत बल पोसेसनमा राखेको सोसिडाडले खेलभर नौवटा पोस्ट प्रहार गरेको थियो । यता ६ वटा पोस्ट प्रहार गरेको ओसासुना गोलरहित हार खेप्न बाध्य बन्यो । सोसिडाडका डेभिड सिल्भा ‘म्यान अफ दी म्याच’ बन्नुभयो । जितसँगै सोसिडाड फेरि शीर्षस्थानमा उक्लिएको छ ।

१३ खेलमा आठ जित, चार बराबरी र एक हार खेपेको सोसिडाडको २८ अंक छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको २७ अंक छ । रियलले एक खेल कम खेलेको छ । तेस्रो स्थानमा रहेको सेभियाको पनि २७ अंक छ । सोसिडाडसँग पराजित ओसासुना १९ अंकसहित सातौं स्थानमा छ ।

आइतबार राति नै भएको खेलमा सेभियाले १० खेलाडीमा समेटिएको रियल बेटिसलाई उसैको मैदानमा २-० गोलले हराउँदै तेस्रो स्थान कब्जा गरेको हो । सेभियाको जितमा मार्कोस अकुनाले ५५औं मिनेटमा गोल गर्नुभयो । सेभियाले अर्को गोल ८१औं मिनेटमा रियल बेटिसबाट आत्मघाती उपहार पाएको थियो ।

बल बचाउनेक्रममा हेक्टोर बेलेरिनको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो । ४५औं मिनेटमा गुईडो रोड्रिग्वेज दोहोरो पहेँलो (रातो कार्ड) पाउँदै बाहिरिएपछि १० खेलाडीमा समेटिएको बेटिस दबाबमा परेको थियो । सेभियासँगको हारसँगै २१ अंक बनाएको बेटिस पाँचौं स्थानमा छ ।

अर्को खेलमा साबिक विजेता एट्लेटिको म्याड्रिड भ्यालेन्सियासँग ३-३ गोलको बराबरीमा रोकिएको छ । भिल्लारियलले गेटाफेलाई १–० गोलले पराजित गरेको छ । मालोर्का र इल्चेले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।