विद्युत् सुचारु गर्न भरतपुर सबस्टेसन मर्मत हुँदै।

चितवन:= चितवनको भरतपुर सबस्टेसनमा रहेका पावर ट्रान्सफर्मरको मर्मत धमाधम भइरहेको छ । सबस्टेसनमा रहेका दुई ट्रान्सफर्मरमा समस्या आएपछि भरतपुर महानगरपालिका १ देखि १३ तथा २९ र तनहुँको देवघाट क्षेत्रमा मंगलबार दिउँसोदेखि विद्युत् आपूर्ति बन्द छ ।

बिग्रिएको ट्रान्सफर्मरलाई हटाएर २२.५ एमभीएको अर्को पावर ट्रान्सफर्मर जडानको कार्य भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार काम सक्न कम्तीमा पनि आठ घण्टा लाग्ने अनुमान गरिएको छ । अर्को ट्रान्सफर्मर पोखराबाट ल्याउने काम भइरहेको छ । हाल जडान भइरहेको ट्रान्सफर्मरको काम सकिएपछि सर्वसाधारणलाई विद्युत् आपूर्ति गरिनेछ ।

तिहारको समयमै भरतपुर क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसहितको टोलीले मर्मतकार्यको स्थलगत निरीक्षण गरी काम छिटो सक्न निर्देशन दिएको छ । कार्यकारी निर्देशक घिसिङले मर्मतकार्यको अनुगमन गरी जनशक्ति थपेर जति सक्दो छिटो विद्युत् आपूर्तिको व्यवस्था गर्न निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘तिहारको बेला उपभोक्तालाई अँध्यारोमा राख्नुहुँदैन, मर्मतका लागि श्रमिकहरू थपेर भए पनि तत्काल काम सक्नुपर्छ, तत्कालका लागि उद्योगहरूलाई दिइएको आपूर्ति कटौती गरी ग्राहस्थवर्गलाई तिहारमा बत्ती बाल्न पाउने व्यवस्था मिलाउनुपर्छ ।’ सबस्टेसनमा रहेका दुईवटा ट्रान्सफर्मरमध्ये एउटामा शनिबार बिहानबाट समस्या देखिएको थियो । सबस्टेसनमा रहेको अर्कोमा मंगलबार दिउँसोबाट समस्या देखिएपछि भरतपुर क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो ।

हाल वैकिल्पक व्यवस्था गरी हस्पिटल, खानेपानी, जिल्ला प्रशासन  तथा प्रहरी, विमानस्थललगायतका क्षेत्रमा विद्युत् आपूर्ति सुचारु गरिएको छ । सबस्टेसनबाट विद्युत् आपूर्ति गर्ने १० वटा फिडरमध्ये एउटामात्र सञ्चालनमा ल्याउन सकिएको छ । सबस्टेसनमा समस्या आउँदा यस क्षेत्रका करिब ५५ हजार ग्राहक विद्युत् सेवाबाट वञ्चित भएको प्राधिकरण भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्रका प्रमुख राजीवकुमार सिंहले बताउनुभयो ।