चितवन:= नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले माधवकुमार नेपाल नेतृत्वको पार्टीप्रति कडा टिप्पणी गर्नुभएको छ । १०औँ महाधिवेशनका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिनुभएको हो ।
१०औँ महाधिवेशनमा देशका प्रमुख राजनीतिक दलहरूलाई आमन्त्रण गरिने उल्लेख गर्नुहुँदै उहाँले नेपाल नेतृत्वको सो पार्टीलाई नबोलाइने पनि बताउनुभयो । एकीकृत समाजवादी पार्टी अवैध सम्बन्ध र गर्भाधारणबाट जन्मिएको उल्लेख गर्नुहुँदै भट्टराईले पार्टीको कुनै पहिचान र ठेगाना नभएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलहरूलाई हामीले निमन्त्रणा गर्ने हो । कतिपय राजनीतिक दलको पहिचान र ठेगाना नै स्पष्ट छैन । अवैध सम्बन्ध, अवैध गर्भाधारणबाट बनेका पार्टीहरू छन् । त्यस्ता पार्टीहरूलाई महाधिवेशनमा बोलाइरहनुपर्छ जस्तो लाग्दैन । पहचिान र ठेगाना स्पष्ट भएका प्रमुख राजनीतिक दलहरूलाई यो महाधिवेशनमा आमन्त्रण गरिनेछ ।’
उहाँले गठबन्धन सरकारका कारण मुलुकमा संविधान मिचिएको र संवैधानिक अंगहरूमाथि हस्तक्षेप भएको बताउनुभयो । उहाँले गठबन्धन सरकारले संवैधानिक अंगहरूमा स्वेच्छाचारिताको गम्भीर प्रश्न उठेको बताउँदै शक्तिहरूको स्वार्थमा देशमा राजनीतिक अस्थिरता पैदा गरेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘आज मुलुकमा राजनीतिक अनिश्चयको स्थिति पैदा भएको छ, संविधान मिचिँदै छ, संवैधानिक अंगहरूमाथि कार्यपालिकाको हस्तक्षेप छ । संवैधानिक अंगहरूमा स्वेच्छाचारी प्रक्रियामार्फत गम्भीर प्रश्न उठ्न थालेको छ । यो गठबन्धन सरकार बनेपछि देशलाई यसरी अन्योल माहोलमा राख्नुहुँदैन । अलोकतान्त्रिक, स्वेच्छाचारी, असंसदीय ढंगमार्फत राजनीतिक अस्थिरतातिर मुलुकलाई धकेल्ने प्रयत्न भइरहेको छ शक्तिहरूको स्वार्थमा ।’
प्रचार विभाग प्रमुख भट्टराईले १०आँै राष्ट्रिय महाधिवेशन ऐतिहासिक र भव्य हुने बताउँदै उक्त महाधिवेशनमा विधान महाधिवेशन भएको दुई महिनामा भएका ठूला राजनीतिक घटनाहरूको बारेमा पनि पार्टीले स्पष्ट धारणा राख्ने बताउनुभएको छ ।

अध्यक्ष ओलीद्वारा महाधिवेशनस्थल निरीक्षण
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १०औँ महाधिवेशन उद्घाटनस्थलको निरीक्षण गर्नुभएको छ । चितवनमा हुने भनिएको एमाले महाधिवेशनस्थल निरीक्षण गर्न एमालेका जिल्ला नेता तथा कार्यकर्ताहरू पनि ओलीको साथमा हुनुहुन्थ्यो । उहाँले नारायणी किनारमा जनसहभागिताको क्षमता, सुरक्षा, सवारी पार्किङलगायत विषयमा चासो व्यक्त गर्नुभएको थियो । यो ठाउँबाहेक जिल्लामा विकल्पका बारेमा नेताहरूसँग कुराकानी पनि गर्नुभएको थियो ।
नेकपा केन्द्रीय सदस्य काशीनाथ अधिकारी, प्रदेशसभा सदस्य जेएन थपलिया, प्रदेश सदस्य कृष्णभक्त पोख्रेल, एमाले जिल्ला अध्यक्ष पार्वती रावललगायतले यहाँको बारेमा अध्यक्ष ओलीलाई जानकारी गराउनुभएको थियो । केन्द्रीय सदस्य अधिकारीले पश्चिमबाट आउने सवारीलाई गैँडाकोटमा, पूर्वबाट आउने सवारीलाई केन्द्रीय बस टर्मिनल भरतपुरमा र उत्तरतर्फबाट आउने सवारीलाई आँपटारीमा पार्किङको व्यवस्था गर्न सकिने बताउनुभयो ।
उहाँले नदी किनारमा व्यवस्थापन गरेर पाँच लाख हाराहारी सहभागी हुनसक्ने जानकारी दिनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ । नेकपा (एमाले)को १०औँ महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ । उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहामा गर्ने कार्यक्रम तय भएको छ ।
पाँच लाख कार्यकर्ता सहभागी गराउने
नेकपा एमालेले आफ्नो पार्टीको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख कार्यकर्तालाई सहभागी गराउने भएको छ । करिब दुई हजारले मात्रै मताधिकार पाउने भए पनि देशभरबाट महाधिवेशनका लागि करिब पाँच लाख नेता कार्यकर्ता सहभागी गराउने तयारी एमालेले गरेको हो ।
एमालेको महाधिवेशनमा पदाधिकारी छनोटका लागि भने १९९९ जना प्रतिनिधि रहनेछन् । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार प्रदेश र सोसरहका कमिटीका पदाधिकारी र सदस्यमध्येबाट कम्तीमा दुई महिलासहित पाँचजनाका दरले निर्वाचित हुने प्रतिनिधि, प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गतका १२०० सम्म पार्टी सदस्यमध्येबाट कम्तीमा एक महिलासहित तीनजनाका दरले निर्वाचित हुने प्रतिनिधि सहभागी हुनेछन् ।
सो संख्यामा ८०० सम्म सदस्य थप भएमा थप एकजना, १६०० सम्म सदस्य थप भएमा थप दुईजना, २४०० सम्म सदस्य थप भएमा कम्तीमा एक महिलासहित तीनजना र सोभन्दा बढी भएमा सोही अनुपातमा निर्वाचित हुने प्रतिनिधि तथा तीनजना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा एकजना महिला अनिवार्य हुने उहाँले बताउनुभयो ।
महाधिवेशनमा केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारीसमेत सदस्यमध्येबाट निर्वाचित हुने १५ जना प्रतिनिधि, सल्लाहकार परिषद्का अन्य सदस्य राष्ट्रिय महाधिवेशनमा सहभागी हुने तर उहाँहरूलाई मताधिकार नहुने प्रबन्ध गरेको छ । यसैगरी, देशभित्रका विशेष जिल्लाअन्तर्गतका १२०० सम्म पार्टी सदस्यमध्येबाट कम्तीमा एक महिलासहित तीनजनाका दरले निर्वाचित प्रतिनिधि हुनेछन्।
त्यसमा ८०० सम्म सदस्य थप भएमा थप एकजना, १६०० सम्म सदस्य थप भएमा थप दुईजना, २४०० सम्म सदस्य थप भएमा कम्तीमा एक महिलासहित तीनजना र सोभन्दा बढी भएमा सोही अनुपातमा निर्वाचित प्रतिनिधि हुनेछन् । तीनजना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा एकजना महिला अनिवार्य हुनेछन् ।
देशभित्रका जिल्ला र विशेष जिल्लाअन्तर्गतका ५०० सम्म दलित पार्टी सदस्यमध्येबाट निर्वाचित हुने एकजना प्रतिनिधि र सो संख्यामा ५०० सम्म सदस्य थप भएमा थप एकजना, १००० सम्म सदस्य थप भएमा थप दुईजना, १५०० सम्म सदस्य थप भएमा कम्तीमा एक महिलासहित तीनजना र सोभन्दा बढी भएमा सोही अनुपातमा दलित प्रतिनिधि निर्वाचित हुने भट्टराईले बताउनुभयो ।
महाधिवेशनका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले तीनजना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा एकजना महिला अनिवार्य हुने बताउनुभयो। यसैगरी, भूगोलका प्रदेशअन्तर्गतका मजदुर पार्टी सदस्यमध्येबाट कम्तीमा तीन महिलासहित सातजनाका दरले निर्वाचित हुने प्रनितनिधि, भारत, अमेरिका (क्यानडासमेत), युरोप, एशिया प्यासिफिक, खाडी र ओसियानामध्ये प्रत्येकका पार्टी सदस्यबाट कम्तीमा दुई महिलासहित पाँच जनाका दरले निर्वाचित हुने प्रतिनिधिलाई आधार मानिनेछ ।
पार्टीका केन्द्रीय विभाग र केन्द्रीय कार्यालयअन्तर्गतका पार्टी सदस्यबाट निर्वाचित हुने कम्तीमा दुई महिलासहित पाँचजना प्रतिनिधि हुनेछन् । विभागका सचिव र सदस्य विभाग र केन्द्रीय कार्यालय वा आफ्नो पार्टी सदस्यता कायम रहेकोमध्ये कुनै एक स्थानबाट उम्मेदवार बन्न सक्नेछन् । स्वदेशका २२ जनसंगठनका केन्द्रीय कमिटीमा कार्यरत पार्टी सदस्यबाट कम्तीमा दुई महिलासहित पाँच जनाका दरले निर्वाचित प्रतिनिधि गरी कूल एक हजार ९९९ प्रतिनिधि रहनेछन् ।
विदेशी पाहुनालाई निमन्त्रणा
एमालेले उद्घाटन सत्रमा सहभागिताका लागि विदेशी पाहुनालाई निमन्त्रणा दिएको छ । पार्टीसँग भाइचारा तथा मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टी र दक्षिण एसियाका सत्तारूढ एवं विपक्षी दलका प्रतिनिधिलाई आमन्त्रण गरेको जनाएको छ । प्रचार विभाग प्रमुख भट्टराईले सम्मेलनमा आइक्यापका (आइसिएपिपी)का स्थायी कमिटीका सदस्यहरूलाई पनि निमन्त्रणा गरिएको बताउनुभयो
यस्तै, कार्यक्रममा मुलुकका राष्ट्रिय राजनीतिक दलका प्रमुखलाई पनि निमन्त्रणा गरिनेछ । निमन्त्रणा गरिएका विदेशस्थित पार्टीबाट सकारात्मक सन्देश प्राप्त भएको जनाउँदै उहाँले नेपालस्थित कूटनीतिक निकायका प्रमुखलाई पनि निमन्त्रणा गरिएको बताउनुभयो ।
नेपालको मध्यभाग र पर्यटकीय गन्तव्यमा मानिने चितवनमा हुने महाधिवेशनले मुलुकको राष्ट्रिय राजनीतिलाई सकारात्मक दिशा दिने पार्टीका सचिव भट्टराईले बताउनुभयो । सचिव भट्टराईले विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेकाले पार्टीलाई महाधिवेशनले थप एकताबद्ध र सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
विद्युतीय उपकरण प्रयोगमा ल्याइने
महाधिवेशनले विद्युतीय उपकरणमार्फत नयाँ पदाधिकारी चयन गर्ने भएको छ । मतदानका लागि एक सय विद्युतीय उपकरण प्रयोगमा ल्याइने तयारी गरिएको छ ।
महाधिवेशन मूलआयोजक समितिका सह–संयोजक एवं एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले विद्युतीय उपकरणमार्फत मतदान गर्ने तयारी गरिएको बताउनुभयो । जसबाट तीन घण्टाभित्रमा नतिजा आउनेछ । विद्युतीय उपकरण जडान र व्यवस्थापनका विषयमा छलफल भइरहेको एमालेले जनाएको छ ।
महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहाको बाघमारा चौरमा गर्ने तयारी गरिएको छ । सौराहामा करिब तीन हजार ५०० जनालाई बस्ने व्यवस्था मिलाइने उहाँले बताउनुभयो ।
२२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुने
विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्थाअनुसार १०औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँचजना उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात सचिव गरी १५ जना पदाधिकारीसहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । एकतिहाइ महिलासहित नेपालको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व हुने गरी केन्द्रीय कमिटी समावेशी हुनेछ ।
यसैगरी, महाधिवेशनले १५ सदस्यीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगको पनि चयन गर्नेछ । विधान महाधिवेशनले पारित गरेका राजनीतिक, सांगठनिक तथा विधानसम्बन्धी व्यवस्थाको बुझाइमा एकरूपता कायम गर्दै तिनको वैचारिक, राजनीतिक तथा सांगठनिक जगमा पार्टीलार्ई थप सुदृढ र एकताबद्ध गर्न १०औँँ राष्ट्रिय महाधिवेशनले ठोस रूपमा मार्गदर्शन गर्ने जारी विज्ञप्तिमा जनाइएको छ ।
महाधिवेशनका प्रतिनिधिको निर्वाचन आगामी कात्तिक २७ गते देशैभरि एकसाथ देहायबमोजिम गरिनेछ भने बाँकी रहेका स्थानीय तह र वडास्तरका अधिवेशन यही कात्तिक २५ गतेभित्र सम्पन्न गर्न पार्टीले निर्देशन दिएको छ ।




















