धनगढी:= सुदूरपश्चिम प्रदेशमा मिर्गौलापीडितहरूको उपचारमा समस्या देखिएको छ । सेती प्रादेशिक अस्पतालमा मात्रै डायलासिसको व्यवस्था भए पनि फिस्टुला भर्न भने भारत अथवा काठमाडौं नै जानुपर्ने बाध्यता रहेको छ । डायलासिसका लागि अस्पताल पुगेका बिरामीहरूमध्ये कतिपयले अस्पतालकै शैय्यामा ज्यान गुमाइरहेका छन् भने कतिपय बिरामीहरू पालो कुरिरहेका छन् ।
अस्पतालको फार्मेसीमा मिर्गौला डायलासिसको सामान्य औषधि पनि नपाइँदा बिरामीहरू चर्को मूल्य तिरेर निजी फार्मेसीबाट औषधि खरिद गर्न बाध्य छन् । प्रदेशका एक मात्र स्थान सेती प्रादेशिक अस्पतालमा डायलासिस सेवा उपलब्ध भए पनि सेवा त्यति प्रभावकारी नबन्दा सेवाग्राही हैरानी खेप्न बाध्य छन् । ६ वटा मेसिनबाट मात्रै सेवा प्रदान भइरहँदा बिरामीहरूले पालो कुर्नैपर्ने बाध्यता रहेको छ । झन् त्यसमा अस्पतालको फार्मेसीमा डायलासिसको लागि सामान्य औषधिसमेत नपाइँदा झनै समस्या भइरहेको बिरामीका आफन्तहरूको गुनासो छ ।
सेती प्रादेशिक अस्पतालको माथिल्लो तलामा निजी क्षेत्रको विरंग हेल्थ केयर सेन्टरले ठेक्कामा डायलासिस सेवा प्रदान गरिरहेको छ । अस्पतालसँग १० वटा मेसिनबाट सेवा प्रदान गर्ने सहमति भए पनि हाल ६ वटा मेसिन मात्रै सञ्चालनमा छन् । एक हप्तामा हाल ५३ जनाले डायलासिस सेवा लिइरहेको विरंग हेल्थ केयरका व्यवस्थापक दीपक भट्ट बताउनुहुन्छ । सामान्य डायलासिसको सेवा यहाँ प्रदान गरिए पनि मिर्गौलाको फिस्टुला भर्न भने बिरामीले काठमाडौं अथवा भारत नै जानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।
बढ्दो पत्थरी, मधुमेह, उच्च रक्तचाप र अस्तव्यस्त जीवनशैलीका कारण नै किड्नी फेल हुने क्रम बढेकोे विभिन्न अध्ययनहरूले देखाएका छन् । सरकारले डायलासिस सेवा निःशुल्क गरे पनि फिस्टुला भर्न तथा मिर्गौला प्रत्यारोपण गर्न आर्थिक नहुँदा अस्पतालमै ज्यान जाने हो कि भन्ने चिन्तामा उनीहरू छन् ।




















