सकियो चलचित्र ‘म राजेश हमाल’को छायांकन।

काठमाडौं:= अभिनेता राजेश हमालको जीवनबाट प्रेरित चलचित्र ‘म राजेश हमाल’को छायांकन सकिएको छ । ५०औं दिनमा हिजो चलचित्रको छायांकन सकिएको निर्माता केदार भुसालले जानकारी दिनुभएको छ । चलचित्रको छायांकन कैलाली जिल्लाको सेरोफेरोमा गरिएको थियो।

‘फिल्मको सेड्युल ३५ देखि ४० दिनको थियो । तर, प्राविधिक समस्या र मौसम खराबका कारण छायांकनमा केही ढिलाइ भएको हो,’ उहाँले बताउनु भएको छ । अब चलचित्रको पोष्ट प्रोडक्सनको काम गर्ने र रिलिजबारे भने नसोचेको उहाँको भनाइ छ । चलचित्रको कथा सुपरस्टारको इमोसनमा केन्द्रित छ।

यो चलचित्र राजेश हमालको जीवनबाट प्रेरित भए तापनि उहाँको बायोपिक नभएको भुसालले खुलाउनुभयो । चलचित्रमा थोरै भए पनि राजेश हमालको भूमिका रहेको उहाँले बताउनुभयो । चलचित्रमा आर्यन सिक्देल, सञ्चिता लुइँटेल, मुकुन भुसाल, महेश त्रिपाठी, एवनराज उप्रेती, प्रवीन खतिवडा, सञ्जोग रसाइली र अस्मिता लामिछाने लगायतको भूमिका छ । चलचित्रमा जोन योञ्जनको रूपमा परिचित विक्रम लामाको निर्देशन छ । उहाँले यसअघि ‘१२ सत्ताइस’को निर्देशनसमेत गर्नुभएको थियो।