काठमाडौं := कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारअन्तर्गत आज काग तिहार, कुकुर तिहार र नरक चतुर्दशी परेको छ ।
आज काग तिहारअन्तर्गत कागको पूजा गर्ने गरिन्छ । यसदिन यम प्रसन्नताका लागि यमदूत मानिने कागको पूजा गरिन्छ । कागलाई खान दिएर शुभ–शुभ बोल भनिन्छ । शुभ खबर मात्र लिएर आइज भन्ने चलन छ । कागको ध्वनि अशुभ मानिन्छ ।
कागलाई अशुभ मानिए पनि सन्देशबाहकका रूपमा कागको पूजा गरिएको हो । विशेष गरी अतिथि आगमनको सूचना दिने सूचक पनि हो काग । काग द्वारमा आई कराए पाहुना आउँछन् भन्ने लोकोक्ति अद्यावधिक छ ।
आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । कागतिहारमा कागलाई घर–आँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ ।
यस्तै, आज कुकुर तिहारअन्तर्गत आज्ञाकारी तथा कृतज्ञ पशुका रूपमा चिनिने कुकुरको पूजा गरिन्छ । यो भैरवावतार भगवान्को वाहन हो । यो दिन विशेष गरी कुकुरले दर्शाएको स्वामीभक्तिको सम्मानमा उसको पूजा गरिएको हो । वैवस्वत कुलमा उत्पन्न श्याम शबल रूपमा यिनीहरूको पूजा गरिन्छ ।
माला लगाइदिने, मिठा–मिठा परिकार खान दिने र सदा बफादार रही हाम्रो रक्षा गरोस् भन्ने कामना गरिन्छ । वर्षभरिमा एकदिन कुकुरलाई पूज्ने दिन भएको हुनाले यस दिनलाई कुकुर तिहार भनिएको हो । यस दिनलाई नरके चतुर्दशी पनि भनिन्छ।
यस्तै, भोलि अर्थात् बिहीबार लक्ष्मीपूजा, महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती र सुखरात्रि रहेको छ । यसैगरी, शुक्रबार गोवर्धन पूजा, म्हपूजा, हली तिहार, नेपाल सम्वत ११४२ प्रारम्भ र गाईगोरु पूजा रहेको छ भने शनिबार भाइटीका, किजा पूजा रहेको छ ।




















