एजेन्सी:= ग्रानाडाले स्पेनिस ला लिगामा लिभान्तेमाथि सानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा ग्रानाडाले रेलिगेसनको दबाबमा रहेको लिभान्तेलाई उसैको मैदानमा ३-० गोलले स्तब्ध बनायो ।
पाहुना टोली ग्रानाडालाई जिताउन जर्मन सान्चेज, लुइस स्वारेज र एन्टोनियो पुयर्तासले गोल गर्नुभयो । सान्चेजले सातौं मिनेटमा रुवेन रोचिनाको पासमा खाता खोल्नुभएको थियो । स्वारेजले ३८औं मिनेटमा गोल गर्दै ग्रानाडाको अग्रता दोब्बर बनाउनुभयो । ६९औं मिनेटमा पुयर्तासले डिबक्स छेउबाट गोल गर्दै ग्रानाडालाई सहज जित दिलाउनुभयो ।
५२ प्रतिशत बल पोसेसनमा राखेको ग्रानाडाले खेलभर १२ वटा पोस्ट प्रहार गरेको थियो । लिभान्तेले औसत बल पोसेसनमा राखे पनि गोल फर्काउन सकेन । ग्रानाडाका जर्मन सान्चेज ‘म्यान अफ दी म्याच’ हुनुभयो । जितसँगै ग्रानाडा १४औं स्थानमा उक्लिएको छ । ग्रानाडाले ११ खेलबाट ११ नै अंक बनाएको छ । पराजित लिभान्ते रेलिगेसनको दबाबमा छ । १२ खेल सकेको लिभान्तेको ६ अंक छ ।
सोमबार राति नै भएको अर्को खेलमा रायो भालेकानो र सेल्टा भिगोले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । रायो भालेकानोको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर खेर फालेका थिए ।
बराबरीसँगै रायो भालेकानो छैटौं स्थानमा उक्लिएको छ । १२ खेल सकेको रायो भालेकानोको २० अंक छ । ११ अंक बनाएको सेल्टा भिगो १५औं स्थानमा छ । शीर्षस्थानमा रहेको रियल सोसिडाडको १२ खेलबाट २५ अंक छ । एक खेल कम खेलेको रियल म्याड्रिड र सेभिया २४ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।




















